कोरोनाबाट थप ६१८ को मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा बुधबार एकैपटक ६१८ थपिएका छन् । उनिहरुको अहिले मृत्यु नभएर विगतमै भएका तर छुटेकाले तथ्यांक मिलान गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट निधन हुनेको संख्यामा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्यांकसँग मिलान गरेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६१८ जना थप गरिएको बताए । योसँगै अहिलेसम्म निधन भएकाको संख्या बढेर दुई हजार ६८४ जना पुगेका छन् । मंगलबार दुई हजार ६५ जना रहेका थिए । मन्त्रालयले निधन भएका संक्रमितको तथ्यांक विश्लेषण गर्दा ६१८ जना थपिएका हुन् ।

उनले मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्यांक विश्लेषण गर्दा ६१८ जना थपिएका जानकारी दिए । ‘सिसिएमसीले संक्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो’, उनले भने, ‘सिसिएमसीले प्रस्तुत गरेको तथ्यांकमा निधन भएकाको संख्या बढेकाले सच्याइएको हो ।’ संक्रमणबाट निधन भएका संख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो ।

सोही समितिले कोभिड–१९ बाट निधन भएका कुन हुन र कुन होइन भनेर अध्ययनका आधारमा निधन भएका नयाँ संख्या निकालिएको हो । उनले विश्लेषणका आधारमा भविष्यमा पनि निधन संख्या थपघट हुनसक्ने जानकारी दिए । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ७६० जना संक्रमित, दुई लाख ७० हजार १३९ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया