कृषिमा युवा पुस्ताको आकर्षण बढ्यो

स्याङ्जा । पछिल्लो समय युवा पुस्ताको आकर्षण कृषि पेसातर्फ बढ्न थालेको छ । सहकारीमार्फत सामुहिक खेती गर्ने कृषकको आकर्षण स्याङ्जामा ह्वात्तै बढेको हो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीले स्थानीय सरकारसँग साझेदारी कार्यक्रमलाई गाउँगाउँमा पु¥याएसँगै पशुपालन तथा मौसमी बमौसमी तरकारी खेतीमा आकर्षित हुनेको संख्या बढेको हो ।

स्याङ्जा जिल्लाभर वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकामा युनडिपीले साझेदारी कार्यक्रम अघी सारेको छ । वैदेशिक रोजगारीमा जागिर गुमाएका र र स्वदेशमै बेरोजगार बनेका युवा युवतीलाई लक्षित गर्दै सामूहिक खेती प्रणालीमा आबद्ध बनाएपछि व्यावसायिक कृषि पेसा फस्टाएको छ । कृषकलाई प्राविधिक तालिम, आधुनिक कृषि औजार, बिउबिजन लगायतका सामग्री सहयोग गरिएको दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले बताइन् । वालिङ नगरभित्र यो कार्यक्रमको व्यवस्थापन दियालो संस्थाले गरेको छ ।

युवाहरूको आकर्षण कृषि पेसामा बढेको बताउँदै संस्थाका अध्यक्ष गैह्रे भन्छिन्, ‘नगरभित्र १ सय ५० सहकारी हामीसँग आवद्ध हुनुहुन्छ जसमध्ये ४० वटा समुहका एक हजार बढी कृषक प्रत्यक्ष लाभान्वित हुनुभएको छ ।’ युनडिपीले कोभिड प्रभावितलाई विशेष कार्यक्रम सञ्चालन गरेको युनडिपी गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख सुदीप अर्याल बताउँछन् । उनी भन्छन्, ‘हामीले सञ्चालन गरेको कोभिड–१९ उद्धार सामाजिक र आर्थिक प्रतिकार्य परियोजना कार्यक्रम अत्यन्तै लोकप्रिय बनेको छ ।’ यस्ता कार्यक्रमले वैदेशिक रोजगारीमा खुट्टा लम्काएका युवाहरूलाई स्वदेशमै कर्म गर्ने उत्साह थपेको अर्याल बताउँछन् ।

अहिले युनडिपीले कृषिबाहेक सीपमूलक तालिमसमेत सञ्चालन गरेको अर्यालको भनाइ छ । आर्यआर्जनमा वृद्धि गराउने उद्देश्यले मुडा बुन्ने, टपरी बनाउने, क्रिस्टल चुरा बनाउने, सिलाइकटाइजस्ता तालिम मागको आधारमा उपकरणसहित सञ्चालन गरिएको छ । अहिले वालिङ नगरभित्र पशुपालनको साथै नगदे बालीअन्तर्गत फापर, आलु र मौसमी बेमौसमी तरकारी खेतीको अतिरिक्त सीप विकासको कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यस्ता कार्यक्रम कोभिड प्रभावित मात्रै होइन इच्छाशक्ति भएको युवा युवतीहरूलाई समेत लक्षित गर्न आवश्यक देखिन्छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया