पलाँता अस्पतालले पायो दक्ष चिकित्सक

कालिकोट । कालिकोट जिल्लाको जिल्ला अस्पतालपछि स्थानीय तहमा सञ्चालन भएका अस्पतालपछिको दोस्रो अस्पताल पलाँता अस्पतालले दक्ष चिकित्सक पाएको छ । स्वास्थ्य संस्थाबाट नागरिकहरुलाई उपचार गर्नका लागि कठिनाई भएकाले गाउँपालिकाले अस्पताल निर्माणका लागि पहल थालेको थियो ।

अस्पताल निर्माणपछि २० जना स्वास्थकर्मीको टोलीसहित गाउँपालिकाले आफ्ना नागरिकहरुलाई पलाँता अस्पतालबाट सेवा दिँदै आएको छ । सामान्य बिरामी हुँदा जिल्ला सदमुकाम मान्म तथा सुर्खेत नेपालगञ्जलगाएतका शहरमा गएर औषधि गर्नुपर्ने यहाँका नागरिकहरुको बाध्य अहिले टरेको छ ।

गाउँमै अस्पताल बन्दा नागरिकहरु धेरै हर्षित देखिएका छन् । भौगोलिक दृष्टिकोणले विकट मानिदै आएको कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये कालिकोट पनि विकटनै मानिन्छ । कति सरकार आए कति सरकार गए तर, विकासको नाममा भने धेरै हिनामिना भयो । नतः विकास भयो न नागरिकहरु सन्तुष्ट नै भए ।

स्थानीय तहको निर्वाचनपछि कालिकोट जिल्लामा ९ वटा स्थानीय तह बने । ९ स्थानीय तहमध्ये विकासका दृष्टिकोणले विगतदेखि नै भौगोलिक अवस्थाका आधारमा विकट मानिने पलाँता गाउँपालिका नागरिकहरुले स्थानीय सरकार आएपछि विकासको महसुस गरेका छन् ।

पलाँता गाउँपालिका जिल्लाका ९ वटा स्थानीय तहहरुमध्ये विकट नै मानिथ्यो । स्थानीय सरकार आएपछि गाउँपालिकाले युवा नेता लक्ष्मण बहादुर बम सरकार प्रमुखको रुपमा पायो । सरकार प्रमुखको रुपमा बमलाई पाइसकेपछि गाउँपालिकाभित्रका ९ वटा वडाहरुमा खानेपानी, विद्युत, सडक सञ्जाल, स्वास्थ्य, शिक्षालगाएत भौतिक संरचना निर्माणमा विकासले फड्को मारेको देखिन्छ ।

विशेष: गरी त्यहाँका नागरिकहरु स्वास्थ्य उपचारका लागि सदमुकाम मान्म अथवा सुर्खेत नेपालगञ्ज प्रस्थान गर्नुपर्ने पलाँताको बिडम्बना थियो । विगतका दिनमा सडक सञ्जालले नछोएको पलाँता गाउँपालिकामा त्यहाँका नागरिकहरुले औषधि नपाएर अकालमै मर्नुपर्ने र सुत्केरी आमा तथा बालवालिकाहरुले उपचार नपाई छट्पटाई मर्नुपर्ने पीडा पलाँताका लागि कुनै नौलो घटना थिएन ।

स्थानीय सरकारपछि पलाँताले सडक सञ्जाल र स्वास्थ्य उपचारका लागि अस्पताल बनाउन दिनरात नभनी लागिपरेको हो । हाल गाउँपालिकाले कालिकोट जिल्लाकै दोस्रो ठूलो अस्पताल निर्माण गरी नागरिकहरुलाई सेवा सुविधा दिइरहेको छ । एक करोड ५० लाखको लगानीमा गाउँपालिकाले जिल्लाकै दोस्रो अस्पताल सञ्चालनमा ल्याएको छ ।

एमबिबिएसका चिकित्सक बिजय महतो सहित २० जना स्वास्थकर्मीले पलाँताका नागरिकहरुलाई सेवा दिइरहेको छ । एक करोड ५० लाख रुपैयाँ मध्येबाट ४० लाख कर्णाली प्रदेश सरकारले सहयोग गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिए ।

बमका अनुसार हाल हेल्थ असिस्टेन्ट ३ जना, स्टाफ नर्स ३ जना, अहेब ५ जना, अनमी ४ जना फार्मेसी १ जना, ल्याब १ जना, रेडियोग्राफर १ जना र एमबिबिएस चिकित्सक १ जना गरी २० जना पलाँता अस्पतालमा कार्यरत छन् । पलाँता अस्पतालमा हाल सुरक्षा गार्ड २ जना, कार्यालय सहयोगी ४ जना गरी जम्मा २६ जनाले रोजगार पाएका छन् ।

कर्णाली प्रदेश सरकारले अस्पतालको प्रसुतीगृह निर्माणका लागि ७५ लाख पलाँता अस्पताललाई पठाएको अस्पताल विकास समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए । गाउँपालिकामै अस्पतालले सेवा दिन थालेपछि त्यहाँका बिरामीहरुले सहजरुपमा उपचार पाएका छन् ।

सरकारी अस्पताल भए पनि चौबिसै घण्टा त्यहाँका नागरिकहरुले सेवा पाइरहेका छन् । दिनरात नभनी दक्ष चिकित्सकसहितको टोलीले नागरिकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया