‘वरदान’ मा नम्रता र दयाहाङ

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत लघु चलचित्र ‘वरदान’ को छायांकन सकिएको छ दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा लामो समयपछि दयाहाङ र नम्रताले सँगै अभिनय गरेका हुन् । चलचित्रमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय उठाइएको निर्माण पक्षले जनाएको छ । समाजको विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथालाई चलचित्रमा उठान गरिएको छ । चलचित्रमा अभिनेत्री नम्रताको मुख्य भूमिका रहेको छ । चलचित्र कोशिस नेपालले निर्माण गरेको हो ।

निर्देशक दीपेन्द्रले कोरोनाका कारण लगाइएको बन्दाबन्दीपछि मानसिक स्वास्थ्यबारे बहस बढेकाले त्यस विषयमा केन्द्रित रहेर चलचित्र बनाएको बताए । उनले भने, ‘डिप्रेसनमा गएकाले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन वा दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं । यसबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।’

अभिनेत्री नम्रताले चलचित्रको कथावस्तु मन परेर आफूले अभिनय गरेको बताइन् । उनले भनिन्, ‘मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा मैले विभिन्न मञ्चमा बोल्दै आएको छु । यो फिल्मले यस विषयमा सशक्त सन्देश दिन्छ भन्ने विश्वास लिएको छु ।’ करिब २० मिनेट लामो यो चलचित्रमा दयाहाङ र नम्रतासँगै जयनन्द लामा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, प्रवीण खतिवडा, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जन लगायतको अभिनय छ । शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको यो चलचित्र केही समयपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया