बलात्कार र हत्यामा किशोरहरूको संलग्नता बढ्दो

अञ्जु कार्की

१६ वर्षको किशोर यस्तो जघन्य अपराधमा सामेल हुनु भनेको निकै डरलाग्दो पाटो हो । हाम्रो समाजको नयाँ पुस्ता कता जाँदै छ ? भन्ने गम्भीर प्रश्न यो घटनाले खडा गरेको छ । यसले हाम्रो समाजमा युवाको ठूलो हिस्सा गलत बाटोमा रहेको प्रस्ट हुन्छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने बलात्कार पीडितहरूमा ६४ प्रतिशत बालिका छन् । जसमा धेरैजसो अभियुक्त नजिकका मान्छे हुने गरेका छन् । बलात्कारको सजायमा जेल परेका धेरैजसो व्यक्ति २५ वर्षभन्दा कम उमेरका छन् ।

भागिरथी भट्ट बलात्कार तथा हत्या प्रकरणका दोषीलाई दुई साताभित्रै कठघरामा उभ्याएपछि नेपाल प्रहरीप्रतिको जनविश्वास बढेर गएको छ । समयमै दोषी पत्ता लाग्नु खुसीको कुरा हो । तर, दोषी दिनेश भट्ट १६ वर्षका किशोर रहेछन् । १६ वर्षको किशोर यस्तो जघन्य अपराधमा सामेल हुनु भनेको निकै डरलाग्दो पाटो हो । हाम्रो समाजको नयाँ पुस्ता कता जाँदै छ ? भन्ने गम्भीर प्रश्न यो घटनाले खडा गरेको छ । यसले हाम्रो समाजमा युवाको ठूलो हिस्सा गलत बाटोमा रहेको प्रस्ट हुन्छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने बलात्कार पीडितहरूमा ६४ प्रतिशत बालिका छन् । जसमा धेरैजसो अभियुक्त नजिकका मान्छे हुने गरेका छन् । बलात्कारको सजायमा जेल परेका धेरैजसो व्यक्ति २५ वर्षभन्दा कम उमेरका छन् । जघन्य अपराधमा संलग्न १८ वर्षमुनिका ७ सय ७४ जना यतिवेला सुधारगृहमा छन् । आर्थिक वर्ष ०७५÷७६ मा भएका २ हजार २ सय ३० बलात्कारका घटनामा २ हजार २ सय २७ जना पक्राउ परेका थिए । त्यसमध्ये १ हजार ३ सय २५ जना २५ वर्षभन्दा कम उमेरका अभियुक्त छन् ।

अपराधका विभिन्न स्वरूप तथा प्रकृति हुने गर्दछन् । जसमध्ये बलात्कार तथा हत्यालाई जघन्य अपराधको सबैभन्दा खतरनाक सूचीमा राख्ने गरिएको छ । बलात्कार भनेको अशिक्षित र असभ्य समाजको प्रतिक हो । नेपाली समाज शिक्षित र सभ्य बन्दै गएको भन्ने गरिन्छ । परम्परागत कुरीतिहरूको अन्त्य हुँदै गएको पनि भनिन्छ । तर बलात्कार तथा हत्याजस्तो जघन्य अपराधको ग्राफ हेर्ने हो भने नेपाली समाज दिनानुदिन असभ्य बन्दै गएको देखिन्छ । पुरानो पुस्ताभन्दा नयाँ पुस्ता यस्तो जघन्य अपराधमा बढी संलग्न भएको तथ्यांकले नै पुष्टि गरेकोले यास बारे थप व्याख्या गरिरहनु पर्दैन ।

किशोर–किशोरीको अपराधमा संलग्नताको कारण के हो ? यो उनीहरूको मस्तिष्कबाट स्वतः आउँछ वा सामाजिक तथा सांस्कृतिक अवस्थाको उत्पादन हो ? के कस्तो सामाजिक अवस्था भएको समाजमा किशोर–किशोरीको यस्ता अपराधमा संलग्नता बढेर जान्छ ? भन्ने प्रश्नलाई गम्भीरतापूर्वक लिनु जरुरी छ । परम्परागत समाजमा धर्म र पापको मान्यताले जरो गाडेको थियो । कुन कुन क्रियाकलाप धर्म हो ? कुन कुन क्रियाकलाप पाप हो ? भन्ने कुुरा हाम्रो संस्कारमा स्पष्ट लेखिएको थियो । नलेखिए पनि व्यवहारमा लागू भइरहेको थियो । पापकर्म गरेपछि त्यसको फल भोग्नै पर्छ, यस जुनीमा नोभोगे पनि भगवान्ले अर्को जुनीमा दण्डित गर्नेछन्, पाप कर्मको प्रतिफल जन्म जन्मान्तरसम्म भोगिराख्नु पर्छ भन्ने मान्यताले हाम्रो समाजमा जरो गाडेको थियो । यसैगरी मान्छेले नदेखे, थाह नपाए पनि भगवान्ले देखिरहेका हुन्छन्, थाहा पाइरहेका हुन्छन्, भगवान्ले कुनै पनि हालतमा दण्डित गर्छन् भन्ने विश्वास समाजलाई थियो । राज्य संयन्त्र पनि बलियो थियो । भित्ताका पनि कान हुन्छन् भन्ने त्रास हुन्थ्यो । जनसंंख्या थोरै थियो । अपराधी भाग्ने सहज अवस्था थिएन । न्यायलाई किनबेच गर्न सकन्छ भन्ने परिकल्पनासमेत थिएन । तर, अहिले परम्परागत धार्मिक विश्वास हरायो । भगवान् छन् भन्ने विश्वास पनि हरायो । अपराध गरे पनि उम्कन सकिन्छ भन्ने प्रवृत्ति हावी हुँदै गयो । न्यायालयदेखि प्रहरी र अस्पतालसम्मको सेटिङ मिलाउन सक्यो भने हत्या र बलात्कारजस्तो अपराधबाट पनि सजिलै उन्मुक्ति पाइन्छ भन्ने धारणा मानिसहरूमा विकसित हुँदै गयो ।

पहिलेपहिले भगवान्ले अर्को जन्ममा दण्डित गर्छन् भन्ने त्रासले मान्छेहरू अपराध कर्म गर्नबाट डराउँथे । अहिले अर्को जन्म पर्खनु पर्दैन, कानुनले तत्कालै कारबाही गर्छ । तैपनि अपराध गर्न मान्छेहरू डराएको देखिन्न । कानुनमा दण्ड सजायको व्यवस्था जति धेरै ग¥यो जघन्य अपराधहरू त्यति नै बढ्दै जानु भनेको आश्चर्यजनक पक्ष हो । दण्ड सजायको सन्तुलन नमिलेकै कारण जघन्य अपराधको घटना बढेको हो कि ? भन्नेतर्फ पनि राज्यका विधि निर्माताहरूले ध्यान दिनुपर्ने बेला आइसकेको छ । उदाहरणका लागि सडक दुर्घटना भइहालेमा गाडीले ब्याक गरेरै मान्छे मार्ने, ब्याक गर्न नमिले हथौडाले टाउकोमा हानेरसमेत मार्ने । समान्य घाइतेहरू कथंकदाचित अस्पताल पुगे भने नबाँच्ने । पहिले नै डाक्टरहरूसँग सेटिङ मिलिसक्ने घटना पनि बढेका छन् । गाडीले किचेर मान्छे मर्दा भन्दा घाइतेको उपचारका लागि खर्च बढी लाग्ने व्यवस्था कानुनले नै गरेका कारण सामान्य दुर्घटना हुँदा पनि मान्छेलाई मारेरै छाड्ने विकृति बढेको भनाइ कतिपयको छ ।

बलात्कारका सन्दर्भमा पनि त्यही पो हो कि ? ज्यान लिँदा र बलात्कार गर्दा उस्तै उस्तै सजाय हुने भएपछि बलात्कार पछि हत्या गर्ने प्रवृत्ति बढेको हो कि ? हत्या गरिदिएपछि प्रमाण नष्ट हुन्छ, होइन भने पीडितले तत्कालै उजुरी गर्नसक्छ भन्ने मानसिकता विकास भएको पो हो कि ? कडा सजायका कारण घरपरिवार तथा नातागोताबाट भएका बलात्कारका घटनालाई लुकाउने गरिएको पो हो कि ? भन्ने आशंका पनि उत्पन्न भएको छ । यसै गरी समाजिक संजाल तथा युट्युबमा सजिलै हेर्न सकिने अश्लील सामग्रीले पनि अपराध गर्ने तरिका नयाँ पुस्ताले सिकेका हुन्छ । युट्युब तथा अनलाइनमा धेरैजसो पोर्न साइटहरू धेरै हेरिन्छ । यसले भर्खर किशोर अवस्थामा पुगेका मान्छेमा धेरै नै नकारात्मक असर परेको छ । सामाजिक सञ्जाल अपरिचितसँग सम्बन्ध गाँस्ने सहज माध्यम भएको छ ।

एउटा कुिहएको आलुले बोराका सबै आलु कुहाइदिन्छ भने झैँ एउटा जमातको एक युवा बिग्रियो भने त्यो जमातलाई नै सजिलै बिगारिदिन्छ । खराब संगतले राम्रो मान्छे पनि खराब बन्न पुग्छ । कलिलो उमेरमा सजिलै गलत बाटोमा लाग्ने जोखिम हाम्रो समाजमा बढेर गएको छ । स्कुल बंकदेखि लागुऔषध दुव्र्यसनमा खराब संगत र नैतिक शिक्षाको अभावले धेरै कलिला बालबालिका लाग्ने गरेका छन् । उमेर पुगेपछि केटा केटीको चक्करमा, केटी केटाको चक्करमा लाग्छन् । यसलाई मलजल गर्ने काम सामाजिक सञ्जालले गरेको छ । कहाँनेर के जोखिम हुन्छ भन्ने नबुझ्दा उनीहरू अपराधसम्म पुग्छन् । बाबुआमालाई छोराछोरीको बारेमा सोच्ने–सोध्नेसमेत फुर्सद छैन । घरमा परिवारका सबै सदस्य आजभोलि मोबाइलमै व्यस्त हुन्छन्, एक–अर्कासँग बोल्ने फुर्सद हुँदैन । कोही आफन्त आउँदा पहिले जस्तो गफगाफ हुन छाडेको छ । प्रविधिले पारिवारिक तथा सामाजिक जीवनमा ठूलो परिवर्तन ल्याएको छ । गाउँको अवस्था पनि सहरको भन्दा भिन्न छैन । गाउँमा पनि बालबच्चाले सही अभिभावकत्व पाउन सकेका छैनन् । गाउँमा पुरुष कम छन् । महिला घरकै काममा धेरै व्यस्त हुन्छन् । आफ्नो सन्तानलाई मार्गनिर्देश गर्ने समय उनीहरूसँग पनि छैन । जसबाट कलिलो उमेरमा गलत बाटोमा लाग्ने सम्भावना धेरै बढेको छ ।

परिवारमा मात्र होइन, स्कुलमा पनि त्यस्तै अवस्था छ । स्कुलबाट नैतिक शिक्षा हटाइयो । त्यहाँ गणितदेखि इतिहाससम्मका विविधि विषयमा पढाइन्छ, तर के गर्न हुन्छ र के गर्नु हुन्न भन्ने आधारभूत विषयचाहिँ कसैले पनि सिकाउँदैन । पछिल्लो समय समस्या यहीँबाट सुरु भएको हो । बच्चा घरबाट निस्कन्छ, उसलाई यस्तो गर्नु हुन्न भन्ने कोही छैन । तर, खराब काम गर्नुपर्छ भन्ने सिकाउने बिग्रेका युवाहरू समाजमा प्रशस्तै छन् । मदिरा सेवन गर्न हुन्न भन्ने धार्मिक मान्यताले हिजोको समाजमा जरो गाडेको थियो । खासगरी क्षेत्री–बाहुन समुदायमा त मदिरा पिएका कारण जात नै जान्थ्यो । तर अहिले ‘सूर्य अस्त, बाहुन मस्त’ भन्ने नयाँ टुक्का बनेको छ । कुनै जात विशेषलाई भन्न खोजिएको होइन कि, समाजमा मदिराको विकृति कति बढेको छ ? भन्ने उदाहरण दिन खोजिएको हो । रक्सी नखाने मान्छे समाजमा पाउनै गाह्रो हुन थालिसक्यो ।

सहरीकरणको विकृति गाउँगाउँसम्म पुगेको छ । यसलाई रोक्ने काम कतैबाट पनि भएन । यसो गर्नु राम्रो हो, यसो गर्नु नराम्रो हो भन्ने कुरा कलिलै दिमागमा भर्नुपर्छ । यस्तो सिकाउने भनेको बाबुआमाले हो तर बाबुआमालाई पहिलो कुरा त फुर्सन हुन छाड्यो, दोस्रो कुरा बाबुआमा आपैmँ फुर्सद हुनासाथ समाजिक संजालमा व्यस्त हुन थाले । विद्यायलयको पाठ्यक्रमबाट पनि नैतिक शिक्षा हटाइयो । यो विषय खराब हो, यो राम्रो हो भनेर सिकाउने काम कतैबाट भएको छैन । मान्छेलाई जस्तो बनायो, त्यस्तै बन्ने हो । विकृति नै सही, तर पहिले सानो उमेरमा बिहे हुन्थ्यो । यौन आवश्यकताका लागि बाहिर भड्किनु पर्ने अवस्था थिएन । बलात्कारै भएछ भने पनि श्रीमानबाट श्रीमती माथि हुन्थ्यो । हाडनाता करणी हुनासाथ समाजले जात काढेर दलित बनाइदिन्थ्यो । पुस्तौँपुस्तासम्मका लागि दण्डित गरिदिन्थ्यो समाजले । तर, अहिले कानुनले नै विवाहको उमेर २० वर्ष तोकिदियो । मानिसमा १५÷१६ वर्षको उमेरदेखि यौन इच्छा जागृत हुन थाल्छ । यसले पनि यौनसम्बन्धी अपराध बढाएको त होइन ? बिहे गरौँ भने कानुनले समात्ने भएकाले बिहे नगरी सम्बन्ध राख्ने प्रवृत्ति बढेको पनि हुन सक्छ । धैरै देशहरू बिहे गर्ने उमेरबारे मौन छन्, यसमा नागरिकलाई स्वतन्त्रता दिएका छन् । हामीले पनि यतातिर सोच्नुपर्छ कि ?

प्रतिक्रिया