बागलुङ । जिल्लास्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई लक्षित गर्दै ०८० साललाई ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ । उक्त मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो । यद्यपि ‘कालिका दर्शन वर्ष’ को औपचारिक घोषणा भने नयाँ वर्षका दिन आउँदो वैशाख १ गते गर्ने तयारी छ । मन्दिर गुठीका अध्यक्ष राजु खड्काका अनुसार ०८० सालमा ५० लाख दर्शनार्थी÷पर्यटक मन्दिरमा भित्र्याउने लक्ष्य लिइएको छ । ‘दुई वर्ष पूर्वाधार तयारी र प्रचारप्रसारको काम गर्छौं’, उनले भने, ‘०८० सालमा बढीभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकलाई मन्दिरको दर्शन गराउने, घुमाउने योजना छ ।’ मन्दिरलाई जोडेर जिल्लाका अन्य धार्मिक एवं पर्यटकीय सम्पदाको प्रवद्र्धन गरिने अध्यक्ष खड्काको भनाइ छ ।
सो वर्ष हरेक महिना जिल्लास्तरमा विशेष ढंगले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । त्यसका लागि स्थानीय तहदेखि राज्यका निकाय र पर्यटनसँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरिने गुठीले जनाएको छ । प्रवासी नेपाली र तिनका संस्थामार्फत दर्शन वर्षको प्रचारप्रचार विदेशमा गरिने अध्यक्ष खड्काले बताए ।
दर्शन वर्षको कार्यक्रमिक खाका बनाउने काम अहिले भइरहेको जनाइएको छ । सोही वर्षदेखि कालिका मन्दिर परिसलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने पनि तयारी भइरहेको छ । ०७९ सम्ममा प्लास्टिकको प्रयोगलाई निरुत्साहित र न्यूनीकरण गर्दै जाने गुठीको योजना छ ।
‘कालिका दर्शन वर्ष’ ले जिल्लाको धार्मिकसँगै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । उनले बागलुङको पर्यटनलाई उकास्न कालिका दर्शन वर्ष जस्ता प्रवद्र्धनात्मक कार्यक्रमले टेवा पु¥याउने उल्लेख गरे । सरकारद्वारा सूचीकृत पर्यटकीय गन्तव्यस्थलमा पर्ने कालिका भगवती मन्दिरमा बर्सेनि बडादसैँ र चैत्राष्टमी पर्वमा ठूलो मेला लाग्ने गर्छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । देशका विभिन्न भागदेखि भारतसम्मबाट यहाँ दर्शनार्थी आउँछन् । माघ र साउन महिनाबाहेक वर्षभरि नै मन्दिरमा भक्तजनको भिड लाग्छ । १५९१ सालमा स्थापित सो मन्दिरमा वार्षिक एक करोडभन्दा बढी भेटी उठ्छ । बागलुङ नगरपालिका–१ मा पर्ने मन्दिरलाई विश्वसम्पदा सूचीमा पार्न पहल गरिए पनि त्यसले अझै साथर्कता पाएको छैन ।
प्रतिक्रिया