नारीदाङदेखि धनगढीसम्म बस सेवा सुरु

डोटी । वर्षौंपछि दिपायल सिलगढी–८ नारीदाङदेखि कैलालीको धनगढीसम्म बस सेवा सुरु भएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा तराई जानका लागि सास्ती खेप्दै आएका यहाँका नागरिक अब घरबाट नै गाडी चढ्न पाउने भएपछि खुसी भएका छन् । कच्ची सडक निर्माण गरिएको लामो समय भइसक्दासमेत गाडी सञ्चालन नभएका कारण सो क्षेत्रका नागरिक जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलसम्म जानका लागि घण्टौँ पैदलयात्रा गर्न बाध्य हुँदै आएका थिए । स्थानीयवासी केपी माझीले भने, ‘कच्ची सडक निर्माण भएको कम्तीमा पनि १० वर्ष भएको थियो, गाडी नचल्दा घरैमा सडक भए पनि यहाँका नागरिक पैदलयात्रा गर्न बाध्य थिए, बल्ल गाडी चल्न सुरु भयो, अब सबैलाई सहज हुनेछ ।’ शैलेश्वरी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिले संयुक्त रूपमा दिवा तथा रात्रिकालीन सेवा दिनका लागि गत शुक्रबारदेखि नारीदाङदेखि कैलालीको धनगढीसम्मका लागि यातायात सेवा सुरु गरेका हुन् ।

शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीले सडक पुगे पनि यातायात नपुगेको र नागरिकलाई यातायातको समस्या हुन थालेपछि आफूहरूले बससेवा सञ्चालन गरेको जनाउँदै सबैले सहयोग गरे बस सेवा निरन्तर सञ्चालन हुने बताए । गाउँमा बससेवा सञ्चालन भएपछि नागरिकलाई अब दिपायल तथा सिलगढीसम्मको यात्रा कम्तीमा पनि एक घण्टाको हुने र सामग्री ल्याउन सहज हुने दिपायल सिलगढी–८ वडाध्यक्ष रामबहादुर खड्काले बताए । अहिले उक्त क्षेत्रबाट दैनिक एउटा शैलेश्वरी यातायात र अर्को सुन्दर सुदूरपश्चिम यातायात गरी दुई बससेवा सञ्चालन हुँदै आएका छन् । शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले पहिलोपटक दुई बसबाट सेवा सुरु गरिएको तथा यात्रुको माग र चापका आधारमा थप बस सेवाका लागि व्यवस्था गरिने बताए ।

पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा बससेवा सञ्चालन गर्ने क्रम तीव्र रूपमा बढेको छ । नागरिकको मागअनुसार वर्षौं पहिले निर्माण गरिएका बस चल्ने सडकमा सञ्चालन नगरिएको हुँदा स्थानीय जनप्रतिनिधिको पहलमा अहिले यहाँका गाउँगाउँमासेवा सञ्चालन हुन थालेको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बताए । बससेवा सञ्चालनसँगै आफूहरूले उत्पादन गरेको खाद्यवस्तुले बजार पाउने आशामा यहाँका किसान निकै खुसी भएको केआई सिंह गाउँपालिका–४ का पदमसिंह कार्कीले जानकारी दिए ।

जिल्लाका केआई सिंह, जोरायल, बडिकेदार, आदर्श, पूर्वीचौकी, दिपायल सिलगढी तथा शिखर नगरपालिकाका प्रायः सबै वडामा बससेवा पुगेको तथा केही बाँकी वडामा सञ्चालनका लागि पहल भइरहेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासंघका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा बससेवा पुगेको छ, बाँकी रहेका दुई स्थानीय तहमा छिट्टै बस सेवा पु¥याउनका लागि पहल भइरहेको छ ।’ सायल तथा बोगटान फुड्सिल गाउँपालिकामा बस सेवा सञ्चालन नभए पनि साना जिप पनि सञ्चालन हुँदै आएका छन् । छिमेकी गाउँपालिका केआइसिंहमा बस सेवा सञ्चालन भएकाले अब केही दिनभित्रै आफ्नो गाउँपालिकामा पनि बससेवा सञ्चालन गरिने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।उनले भने, ‘केआइ सिंह गाउँपालिकाले बससेवा सञ्चालन गरेको छ, हामी पनि सडक स्तरोन्नति गर्दैछौँ, निकट भविष्यमै बस सेवा चलाउँछौँ ।’

प्रतिक्रिया