सिन्धुको सांगीतिक यात्रा

काठमाडौं । प्रायः गायक गायिका एकै विधामा केन्द्रित रहेर आ–आफ्नो सांगीतिक यात्रालाई अघि बढाएको पाइन्छ । कतिपयले भने परिपक्व आफ्नो गला र कलाको क्षमताले नेपाली विभिन्न सांगीतिक क्षेत्रका गीतमा आवाज दिएर चर्चित तथा बहुमुखी प्रतिभाशाली भएका छन् । भर्सटाइल गायक गायिका बन्ने रहर हरकसैमा हुन्छ । तर, संघर्ष गर्दागर्दै उनीहरुको रहर बिचमै टुंगिन पनि पुग्छ । यही चर्चित र भर्सटाइल हुनेमध्येकी एक सफल गायिका हुन् सिन्धु मल्ल । उनले दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा आवाज दिएर लाखौँ दर्शक स्रोतामाझ लोकप्रिय बनेकी छन् ।

दाङको प्रसडुवामा जन्मिएकी गायिका मल्लले प्रारम्भिक शिक्षा पनि दाङबाटै गरेकी हुन् । तर, बाँकी शिक्षा काठमाडौंको रत्नराज्य माविबाट तथा उच्च शिक्षा ललितकला क्याम्पसबाट गरेको गायिका मल्लले जानकारी दिइन् । उनले संगीतमा ललितकला क्याम्पस र कलानिधि इन्दिरा संगीतमा महाविद्यालयमार्फत भारतको इलाहावाद युनिभर्सिटीबाट डिप्लोमा गरेको सुनाइन् । गायिका मल्लले पहिलो बालगीत २०५४ सालमा रेकर्डिङ रेडियो नेपालमा गराएर यो क्षेत्रमा प्रवेश गरेकी हुन् । जसमा उनी द्वितीय स्थान ओगट्न सफल भएको बताउँछिन् । उनले थुप्रै देउडा गीतलगायत लोकदोहोरी गीतमा समेत आवाज दिएकी छन् । गायिका मल्लले पहिलो हिट गीत लोकदोहोरी ‘ससुरालीमा’ भएको बताइन् । उक्त गीतले दर्शक स्रोताको मन जित्न सफल भएको थियो । त्यसपछि उनका आवाजमा क्रमशः ‘काफलगेडी’ लगायतका गीत बजारमा आउन थाले । अहिलेसम्म करिव पाँच हजारभन्दा बढी गीतमा आवाज दिएको गायिका मल्लले जिकिर गरिन् । यसै कारणले पनि उनी गायनमा अब्बल र मौलिक तथा भर्सटाइल गायिकाको रुपमा आफूलाई स्थापित गराउन सफल भएकी छन् ।

लोकगीत, लोकदोहोरी, आधुनिक, चलचित्र ,क्लासिकल, पप, कल्चरल लगायत धेरै विधाका गीतमा आवाज दिइसकेको गायिका मल्लल बताउँछिन् । साथै, उनले धेरै सांगीतिक कार्यक्रममा निर्णायकको भूमिमा निर्वाह गरिसकेकी छन् । मल्ल हिट्स एफएम र इमेजलगायत धेरै अवार्ड पनि जित्न सफल गायिका हुन् । उनी यही सांगीतिक कार्यक्रमको सिलसिलामा विदेशका धेरै देशसमेत पुगिसकेकी छन् । गायिका मल्लले अहिलेसम्म अमेरिका, जापान, बेलायत, क्यानडा, अस्ट्रेलिया, रसिया लगायतका विभिन्न देशमा पुगेर सफलतापूर्वक कार्यक्रम गरिसकेको जानकारी दिइन् । उनी एक सफल व्यवसायिक गायिकाको सूचिमा पर्छिन् । विगत दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील रहेर महत्वपूर्ण योगदान दिएकी गायिका मल्लका गीतले बजारमा करोडौँको व्यापार गरिरहेको छ । उनका २० वटा एकल एल्बम र सयौँ कलेक्सन तथा अन्य एल्बममा आवाज दिइसकेको बताइन् । साथै, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान तथा नेपाल राप्ती समाज काठमाडौंको आजीवन सदस्य पनि भएको उनले जानकारी दिइन् ।

विश्वभर महामारीका रुपले फैलिएको कोरोनाका कारण पूर्वनिर्धारित युरोपको कार्यक्रम स्थगित भएको र आगामी दिनमा पुनः उक्त कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको पनि गायिका मल्लले सुनाइन् । साथै, नयाँ गीत रेकर्डिङ र रिलिजको तयारीमा रहेको तथा छिट्टै युगल कल्चरल गीत कौडा गायक सन्तु थापासँग सहकार्य गरेर बजारमा ल्याउन लागेको बताइन् । उनले भनिन्, ‘रेकर्ड भएका आफ्नै एकल गीतहरु र युगल गीत पनि तयारी अवस्थामा छन् ।’ पछिल्लो समय नेपाली गीत संगीत तथा लोकदोहोरी क्षेत्रमा विकृति र विसंगति हावी भइरहेको प्रसंगमा उनले अन्य गीतभन्दा लोकगीतमा यस्तो कार्य हुनुमा कलाकारको कमाउधन्दाको प्रतिफल भएको बताइन् । ‘¥याप र पप गीतमा भन्दा लोकगीतमा देशको माटो बोलेको हुन्छ, त्यसैले लोक कलाकारले यसको मर्म र न्याय बुझेर आफ्नो कर्म गर्नुपर्छ’, गायिका मल्लले भनिन् ।

प्रतिक्रिया