सोलुखुम्बुको विकट गाउँमा फोर–जी सेवा

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोर–जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये ६ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुंगाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोसी गाउँपालिकाको कांगेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन भएको हो । यस्तै सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै यस किसिमको सेवा सञ्चालन भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्रमा सेवा सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख पन्थीको भनाइ छ ।

उता छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चार वटा सञ्चालनमा आएको छ । जिल्लाको दिक्तेल, रुपाकोट र मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार र खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ । यस्तै केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा पुनः सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ । यता ओखलढुंगा जिल्लामा पनि फोर–जी सेवा सञ्चालन भएको छ । कुल २५ वटा फोर लेग टावरमध्ये ६ वटाबाट फोर–जी सेवा सञ्चालन भएको टेलिकम शाखा कार्यालयले जनाएको छ । सिद्धीचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुंगा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो । साथै अन्य टावरमा एन्टिना राख्ने कामसँगै लिंक मिलाउने काम भइरहेको पन्थीको भनाइ छ ।

हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सिसिएसआई) ले रेडियो एक्सेस नेटवर्क (¥यान) एवं जेडटिइले सामग्री जडानको काम गरिरहेको छ । अहिले नेपालमा टेलिकमका सक्रिय फोर–जी प्रयोगकर्ता ३० लाख नाघेको टेलिकमले जनाएको छ । पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राही हर्षित भएका छन् । गाउँगाउँमा फोर–जी सेवा पुनः सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको थुलुङ दूधकोसी गाउँपालिका–४ जुबुका सुजन खत्रीले बताए । घरबाहिर भएकाले बुबाआमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुसी व्यक्त गरेका छन् । विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नपर्ने माप्यदूधकोसीमा फोर–जी सेवा सुरु भएपछि स्थानीयवासी दंग परेका छन् ।

यस्तै खोटाङजस्तो विकट जिल्लामा फोर–जी सेवा सञ्चालन भएसँगै घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट विश्वका विभिन्न क्षेत्रलाई नजिकैबाट नियाल्न सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका कविराज रिजालको भनाइ छ । केही महिना अगाडि नै ७७ ओटै जिल्लामा फोर–जी विस्तार भइसकेको टेलिकमले घोषणा गरिसकेको थियो । टेलिकमको फोर–जी विस्तारको कुल लागत १८ अर्ब ७१ करोड रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको फोर जी सेवाको पहुँच हालसम्म ६ सय १५ स्थानीय तहमा पुगेको छ भने देशैभर फोर–जीको पहुँच पु¥याउने गरी २०७५ पुसमा सम्झौता भई काम अगाडि बढाएको थियो । नेपाल टेलिकमले गत पुस मसान्तसम्ममा २ हजार ९ सय ५५ स्थानमा ५ हजार १ सय ७६ ओटा बिटिएस टावरमार्फत फोर–जी सेवा उपलब्ध गराएको छ । कोभिड–१९ का कारण काममा केही ढिलाइ भए पनि अहिले भने द्रुतगतिमा काम भइरहेको टेलिकम कार्यालयका प्रमुख पन्थीले जानकारी दिए ।

प्रतिक्रिया