सिन्धुली । जिल्लामा सवारी साधन कारबाहीबाट सात महिनाको अवधिमा १ करोड ७७ लाख ४ हजार ५ सय राजस्व संकलन भएको छ । सिन्धुली हुँदै चल्ने विभिन्न सवारी साधनबाट उक्त रकम संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षत्रीले जानकारी दिए । प्रमुख क्षत्रीका अनुसार माघ महिनामा सबैभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । माघ महिनामा मात्र ४ हजार ५ सय वटा विभिन्न सवारी साधन कारबाहिमा परेको उनले जानकारी दिए । उक्त सवारी कारबाहीबाट ३८ लाख ३९ हजार ५ सय राजस्व संकलन भएको छ । सवैभन्दा बढी ओभर लोड, ओभर स्पिड र सवारी लाइसेन्स नभएका सवारी साधन कारबाही गरिएको प्रमुख क्षत्रीले बताए । माघ महिनामा मात्र लाइसेन्सविना सवारी चलाउने सवारी साधन कारबाहीबाट ७ लाख ७५ हजार राजस्व संकलन भएको छ ।
यस्तै माघ महिनामा ट्रक ७ सय ३४ वटा कारबाहीमा पर्दा १३ लाख ८३ हजार ५ सय रुपैया, बस ७ सय ८० बाट ६ लाख ८२ हजार, जिप कार ८ सय ७६ बाट ७ लाख ४२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै ट्रयाक्टर २ सय ३ वटाबाट १ लाख ७५ हजार ५ सय, मोटसाइकल÷स्कुटर ७ सय २३ बाट ४ लाख ९६ हजार, अटो ४ सय ३४ बाट ३ लाख ६१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रमुख क्षत्रीले जानकारी दिए । सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्रापिक कार्यालय सिन्धुलीले सवारी चेकजाँचमा कडाइ गरिरहेको प्रमुख क्षत्रीले बताए ।
प्रतिक्रिया