महाधिवेशनबाट अध्यक्ष र चुनावबाट प्रधानमन्त्री छोड्छु भन्ने पहिलो केपी ओली : मन्त्री नेम्वाङ

पाँचथर  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले महाधिवेशनबाट पार्टी अध्यक्ष र चुनावबाट प्रधानमन्त्री पद छाड्छु भन्ने पहिलो व्यक्ति प्रधान मन्त्री केपी शर्मा ओली भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा कुम्मायकले मंगलबार यासोक बजारमा जनसभाको आयोजना गरेको थियो । उक्त जनसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले प्रधानमन्त्री ओलीको जस्तो त्यागको भावना देखाउन नेताहरुलाई चुनौति दिएका थिए ।

‘चैतमा हुने भनि तय महाधिवेशनबाट अध्यक्ष र अर्को आवधिक निर्वाचनबाट प्रधानमन्त्री हुन्न भनेर प्रधानमन्त्रीले भनेकै थिए’, मन्त्री नेम्वाङले जनसभामा भने, ‘पार्टी अध्यक्ष हुन तीन महिना र प्रधानमन्त्री हुन डेढ वर्ष पर्खन नसकेर नेताहरुले षड्यन्त्र गर्दा मध्यावधि निर्वाचनमा जानुपरेको हो ।’

७० वर्षको कम्युनिष्ट इतिहासमा ओलीको जस्तो त्याग अरु नेताले देखाउन नसकेको भन्दै मन्त्री नेम्वाङले कम्युनिष्ट आन्दोलन ‘सखाप’ हुन लागेपछि मध्यावधि निर्वाचनबाट रक्षा गर्ने निर्णय लिइएको बताए । चीनसँगको पारवहन सम्झौता, नाकाबन्दीको सामना, कालापानी–लिपुलेक समेटेर नक्सा प्रकाशन गर्ने कार्यले प्रधानमन्त्री ओली राजनेताको रुपमा स्थापित भएको मन्त्री नेम्वाङले दाबी गरे ।

‘यीनै काम विगतका अन्य प्रधानमन्त्रीले किन गर्न सक्नुभएन् ?’, नेम्वाङले प्रश्न गर्दै भने, ‘केपी ओलीले यी सबै काम गर्ने हिम्मत गर्दा जस दिन किन तयार हुनुभएन् ?’ प्रधानमन्त्री ओलीलाई घेराबन्दी र चक्रब्यूहमा पारिएको र संसद्मा सांसद् किनवेचको विकृति खेल खेल्न खोजिएको उनले आरोप लगाए ।

नेम्वाङले मुलुकलाई अप्ठ्यारोमा जान दिनुभन्दा नयाँ संसद्बाट निकास दिन खोजिएको बताए । नेकपाको पुनर्गठन आवश्यक देखिएको भन्दै नेम्वाङले विकास र समृद्धिका कार्य निर्वाचन वा नयाँ सरकार बन्दैमा नरोकिने बताए । आफूले प्रतिनिधिसभा सदस्यमा चार पटक सूर्य चिन्हबाट उम्मेद्वार भई तीन पटक विजय हासिल गरेको भन्दै मन्त्री नेम्वाङले अहिले सूर्य चिन्हबाट चुनावै नलडेकाहरुले उक्त चिन्ह दाबी गर्नु हाँस्यास्पद रहेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ, नेकपाका अध्यक्ष राजकुमार भण्डारी, प्रदेशसभा सदस्य आशारत्न जबेगू, भूमिहीन तथा सुकुम्बासी समस्या समाधान आयोगका पाँचथर अध्यक्ष करुणा राई, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ लगायतले समेत सम्बोधन गरेका थिए ।

कार्यक्रममा कुम्मायकका तीन जना वडाध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु सहितका जनप्रतिनिधिहरु, स्थानीयवासी तथा नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो । कुम्मायकमा प्रधानमन्त्री पक्षले जनताको उल्लेख्य उपस्थितिमा जनसभा सम्पन्न गरेको हो ।

यसअघि जिल्लाको तुम्बेवा, फाल्गुनन्द, याङवरक र हिलिहाङमा समेत उक्त पक्षले आमसभा सम्पन्न गरिसकेको छ । जिल्लाका मिक्लाजुङ पालिका , पालेलुङ पालिका हुने, र फिदम नगरमा जिल्लास्तरी नेकपाको बृहत जनसभाको आयोजना गरिने ओली पक्षका नेकपाले जनाएको छ । – फोटो सौजन्य : रविन्द्र काफ्ले 

प्रतिक्रिया