मिथिलाञ्चलमा हलोगोरु पूजा

जलेश्वर । श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरूपमा मिथिलाञ्चलभरिका किसानले श्रीपञ्चमीका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै हलो र गोरुको पूजा गरेका हुन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरूसहित हलो राखेर पूजाआजा गरेका छन् । साथै घरबाहिर गोरुलाई नुहाई नयाँ रंगीचंगी डोरी लगाएर तिनको पूजा गरेका छन् ।

किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर एकछिन जोत्ने गर्दछन् । श्रीपञ्चमीका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्ने गर्दछन् । उनीहरूले हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् ।
श्रीपञ्चमीका अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर प्रसाद तयार पार्दछन् । हलो र गोरुको पूजा गरिसकेपछि हलो जोत्ने, एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन् ।

मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती सुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्न शुभारम्भ गर्दछन् । हलोगोरु पूजाका अवसरमा गाउँगाउँमा सयौँ गोरु एकैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरूपमा राखेर गइरहेको हेर्दा सबैको मन खुसीले गद्गद् हुन्छ ।
हलो र गोरु पूजा जिल्ला सदरमुकाम जलेश्वरलगायत जिल्लाको १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ स्थानीय तहमा भइरहेको छ ।

प्रतिक्रिया