रसुवा । पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै पूर्व तयारीका सामग्री संकलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जंगलका डढेलो नियन्त्रणमा मद्दत पुर्याउने खालका यथेष्ट सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो । सुरक्षा निकाय, सरोकारवाला र गैरसरकारी संस्थाबीच सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित पर्नसक्ने विपद् र समाधानका विषयक कार्यक्रमले विपद्को अवस्थामा खोज, उद्वार एवं तत्कालको राहत र वन जंगलको डढेलो नियन्त्रणका सामग्री भण्डार व्यवस्थामा पहिलो प्राथमिकता दिने तय भएको हो ।
सरकारी निकायको साथै जिल्लास्थित नेपाल रेडक्रस, अपांगता पुनःस्थापना केन्द्र र ट्रान्सपरेन्सी इन्टरनेसनल निकायसमेतका प्रतिनिधिको उपस्थितिमा भएको समीक्षा कार्यक्रमले रसुवामा बढी भीरपाखो भएका कारण डढेलो नियन्त्रणमा भने सफलता हासिल गर्न नसकेको सहभागीले बताए । गत महिना हाकु क्षेत्रको जंगलमा लागेको डढेलो तीन दिनको प्रयासमा अग्नि रेखा बनाएर नियन्त्रणमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । भौगोलिक विकटता, बढी भिरपाखो, अधिकांश समय चलिरहने हावाहुरीजस्ता कारण रसुवाको जंगलमा अचानक लाग्ने डढेलो नियन्त्रणमा कठिनाइ हुने गरेको वन प्राविधिकले बताएका छन् ।
रसुवाको जंगल समयसमयमा धेरै डढेलोको चपेटामा पर्ने र डडेलो किन लगाइन्छ दोषी को हो भन्ने विषयमा खोजी गर्ने निकायले बेवास्ता गर्दा बर्सेनी जंगलका ससाना वनस्पति नोक्सान हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिमा खोज उद्वारका केही सामग्री मौज्दात रहेको प्रजिअ पन्तले बताए । उनले अपुग सामग्री जुटाउने प्रयासमा आफू अगाडि बढिरहेको जानकारी दिए । चालु आर्थिक वर्षमा दुई घरमा आगलागी हुनाको साथै वन कार्यालयको हाकु, लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको ग्राङ एवं यार्सा क्षेत्रको जंगलमा डढेलो लागेको बताइन्छ ।
प्रतिक्रिया