कोरोनाबाट विदेशमा थप दुई नेपालीको निधन

काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुई जनाको संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस संक्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३५ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ५८ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६१४ जना छ भने दुई लाख ६८ हजार ९२९ जना अर्थात् ९८ प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जनाए ।

धमाधम खोप लगाइँदै

पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, ज्येष्ठ नागरिक र पहिले कोराना संक्रमण भइसकेकाहरुले खोप लगाएका हुन् ।

यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन् । डा. बोधराज सुवेदीका अनुसार युरोपमा दुई हजार ५०० नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसैबीच विभिन्न चिकित्सकीय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको संक्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको बताएका छन् ।

प्रतिक्रिया