पञ्चेबाजा संरक्षण

स्याङ्जा । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा स्थानीयले चासो दिन थालेका छन् । संरक्षणको अभावमा परम्परादेखि चल्दै आएको पञ्चेबाजाप्रति स्थानीयको जारुकता बढाउन वालिङ नगरपालिका वडा नं ७ ले बाजा हस्तान्तरण गरेको हो । विवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने लोपोन्मुख पञ्चेबाजा संरक्षण कार्यक्रमअन्तर्गत गह्रौँकालिका पञ्चेबाजा समूह पैदीलाई १० थान बाजा हस्तान्तरण गरिएको हो । वडाध्यक्ष पाण्डुकुमार थापाले आफूहरूले बजाउँदै आएको बाजा पुरानो तथा बाजा अपुग भई समस्या भएकाले वडा कार्यालयले बाजा संरक्षणका लागि एक लाख ३० हजारको लागतमा १० थान बाजा खरिद गरी हस्तान्तरण गरेको बताए ।

उनले भने, ‘गह्रौँकालिका पञ्चेबाजा समूहले वडा कार्यालयमा बाजाको माग गरेकाले वडामार्फत बाजा संरक्षण कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरी सहयोग गरेका हौँ । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्न सकियोस् र पुरानो पुस्ताको सीप तथा कलालाई नयाँपुस्तामा हस्तान्तरण गर्नुका साथै व्यावसायिकतामा जोड दिनका लागि सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

वडाध्यक्ष थापाले वडामा रहेका अन्य बाजा समूहलाई आवश्यक सीप तथा तालिम, आवश्यक पोशाक हस्तान्तरण गरिएको र आगामी दिनमा पनि बाजा संरक्षणका कार्यक्रम सञ्चालन गर्दै लगिने बताए । वडाको बजेटबाट सहनाइ, ट्याम्को, नरसिंहा, ढोलक, झुर्मासहितका एक सेट नौमती पञ्चेबाजा हस्तान्तरण गरिएको हो । ‘पछिल्लो समय विदेशी कलासंस्कृति र रीतिरिवाजको नक्कलका कारण नेपाली कलासंस्कृतिमाथि असर गरिरहेको छ’, वडाध्यक्ष थापाले भने, ‘हाम्रो कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व ठानेर बाजा हस्तान्तरण गरेका हौँ ।’

परम्परागत मौलिक कला संस्कृति हराउन नदिनका लागि वडा कार्यालयले नौमती बाजा उपलब्ध गराएर सहयोग गरेको समूहका अध्यक्ष कमल परियारले बताए । उनले भने, ‘पुरानो पुस्ताको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि समूहमार्फत युवालाई सक्रिय बनाएर सीप सिकाइएको छ । यहाँका युवाले विभिन्न मेला महोत्सव, धार्मिक तथा अन्य कार्यमा सहभागी भई बाजा बजाउँदै आएका छन् ।’ कला संस्कृतिको संरक्षणमा यो समूह तथा टोलका १६ घरपरिवारको सामूहिक प्रतिबद्धतासँगै सहकार्य रहेको अध्यक्ष परियारले बताए ।

प्रतिक्रिया