काभ्रे । नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालबाट कोरोना भाइरस विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) कार्यक्रम थालिएको छ । उक्त अस्पतालबाट शुक्रबार कोरोना संक्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने ८५ जनालाई खोप लगाइएको छ । यसअघि सरकारको खोप अभियानसँगै काभ्रेको अर्को धुलिखेल अस्पतालले गत बुधबारदेखि कोरोना भाइरस विरुद्धको खोप सुरुआत गरेको थियो । उक्त अस्पतालबाट हालसम्म १ हजार ३ सय ५८ लाई खोप लगाइएको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टले जनाएको छ । पोस्टका अनुसार पहिलो चरणमा काभ्रेका ३ हजार ५ सय ८१ कोरोना खोप दिइने भएको हो । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना संक्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको पोस्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए ।
उनले नमोबुद्ध नगरप्रमुख टिपी शर्मा तिमल्सिना र अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रामशरण श्रेष्ठलाई खोप हस्तान्तरण गरेका थिए । उक्त अस्पतालबाट चार स्थानीय तहका पाँच सयभन्दा बढीलाई खोप दिइने उनले बताए । उनका अनुसार नमोबुद्धका २ सय ३०, रोशी गाउँपालिकाका १ सय ५०, तेमाल गाउँपालिकाका १ सय १९ र महाभारत गाउँपालिकाका ९३ जनालाई खोप दिइनेछ । मेथिनकोट प्रादेशिक अस्पतालमा खोप कार्यक्रम आउँदो बुधबारसम्म सञ्चालन गरिनेछ । उक्त अस्पताललाई ट्रमा सेन्टरको रूपमा स्तरोन्नति गर्ने प्रक्रिया थालिएको छ ।
पोस्टले अग्रभागमा काम गर्ने ७ सय ४९ सरकारी स्वास्थ्यकर्मी, १ हजार ३ सय ६८ नीजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, ९ सय ५५ महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहको सरसफाई क्षेत्रमा कार्यरत १ सय ११, नीजि क्षेत्रका स्वास्थ्य संस्थाका सरसफाइमा कार्यरत २ सय २८ लाई पहिलो चरणको कोरोना भ्याक्सिन लगाइने जनाएको हो । यसैगरी, कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटेका १ सय २६ सुरक्षाकर्मी तथा अस्पतालका सुरक्षा गार्ड र ४४ एम्बुलेन्स चालकलाई खोप लगाउने तयारी भइरहेको हो ।
खोपपछि केहीको स्वास्थ्यमा नकारात्मक देखिनसक्ने भएकाले दुई अस्पतालमा नै ‘आकस्मिक बेड’ तयारी अवस्थामा राखिएको छ । पहिलो चरणमा पनि एक व्यक्तिलाई दुईपटक अर्थात् दुई हप्ताको फरकमा अर्को खोप लगाइनेछ । भारत सरकाले माघ पहिलोसाता सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । यसैबीच, काभे्रमा कोरोना भाइरस् संक्रमितको संख्या शून्यतातर्फ लागेको छ । हाल जिल्लाका १३ स्थानीय तहमध्ये आठ तह संक्रमणमुक्त भएका छन् । हाल बनेपा नगरमा १४, धुलिखेलमा दुई, पनौतीमा सात, मण्डनदेउपुरमा एक तथा रोसी गाउँपालिकामा एक संक्रमित रहेका छन् ।
जिल्लाका १४ महिलासहित ४५ कोरोना संक्रमितको मृत्यु भएको छ । आवश्यकतामा मात्रै परीक्षण हुने गरेकोले पछिल्लो हप्तादेखि कोरोना संक्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोस्टले जनाएको छ । पोस्टका अनुसार हालसम्म जिल्लामा ३ हजार ३ सय ३२ मा कोरोना संक्रमण देखिएको थियो । संक्रमित १ हजार ९ सय ७४ पुरुष र १ हजार ३ सय ५८ महिलामध्ये ३ हजार २ सय ६२ अर्थात् ९७ दशमलव ८९ प्रतिशत संक्रमणमुक्त भइसकेका छन् । हाल जिल्लाका १३ महिला र १२ पुरुष सक्रिय संक्रमित छन् । उनीहरू होम आइसोलेसनमा उपचाररत रहेको पोस्टले जनायो ।
प्रतिक्रिया