‘ढुक्क भएर खोप लगाउनुहोस्’

दमौली । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप लगाउँदै गर्दा चौधरीलाई मनमा केही डर पनि थियो । ‘खोप लगाउनु १० मिनेटअगाडि पनि त्रासकै अवस्था थियो, केही हुन्छ कि भन्ने डर थियो, तर खोप लगाइसकेपछि भने सबै डर हरायो’, चौधरीले भने, ‘खोप लगाएको पनि थाहा भएन, दुख्दा पनि दुखेन ।’ चौधरीले खोप सुरक्षित रहेकाले प्राथमिकतामा परेका सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे । ‘केही असर देखिने भए खोप लगाएको केही मिनेटमै देखिन्छ, मलाई केही भएन’, उनले भने, म्याग्दे गाउँपालिकाका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठले महिलातर्फबाट पहिलो खोप लगाइन् । उनले पनि सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आजदेखि दमौलीमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । पहिलो खोप लगाएका स्वास्थ्यकर्मीलाई चार हप्तापछि पुनः खोप दिइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरूलाई कोरोनाविरुद्धको खोप लगाइन्छ । ‘खोप लगाएकाहरूलाई केही असर नदेखिएकाले यो खोप प्रभावकारी छ भन्ने हामीले ठहर गरेका छौँ’, अधिकारीले भने, ‘सबै स्वास्थ्यकर्मीलाई ऊर्जा प्राप्त भएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले १९ माघसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाउँदैछ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १४ र १५ गते, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १६ र १७ गते, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १८ र १९ गते खोप लगाइँदैछ ।

अधिकारीका अनुसार व्यास नगरपालिकाका ५ सय ५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषिङ गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपलिकाका २ सय ६७, भीमाद नगरपालिकाका १ सय ७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १ सय ७१, आँबुखैरेनी गाउँपालिकाका ७३, बन्दीपुर गाउँपालिकाका १ सय ५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइँदैछ । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीका अनुसार सबै स्थानीयतहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी लगायतलाई यो खोप लगाइँदैछ ।

प्रदेश सरकारले मंगलबार मात्रै तनहुँलाई १ सय ८९ भायल खोप उपलब्ध गराएको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले खोप लगाएकालाई ३० मिनेट चिकित्सकको निगरानीमा राखिने र केही असर देखिए तत्कालै उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया