निर्माण उपकरणमा आगजनी गरिएकोमा महासंघको आपत्ति

काठमाडौं । कोरोनाको त्रासबीच पनि भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई हत्तोत्साहित गर्ने गरी अज्ञात समूहबाट भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा सियारी पहुँच मार्गअन्तर्गतको सडकखण्ड निर्माणमा प्रयोग भइरहेको ट्रक र यन्त्र (डिष्ट्रिव्युटर) मा अज्ञात समूहबाट आज बिहान आगजनी गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि रु ५० लाखभन्दा बढीको क्षति भएको महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायी संघ नवलपरासीका अध्यक्षसमेत रहेका लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका उपाध्यक्ष नवीन ज्ञवालीको नविन कन्स्ट्रक्सनको लु १ क ६९७६ नम्बरको ट्रक र डिष्ट्रिव्युटरमा आगजनी गरिएको हो । ती सवारीसाधन पुष्पाञ्जली–समिर–जिम्बा जेभीद्वारा सडक निर्माणमा प्रयोग भइरहेका थिए । आगजनीका कारण दुवै उपकरण पूर्णरुपमा काम नलाग्ने गरी ध्वस्त भएका छन् ।

निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षालाई लिएर महासंघले पटकपटक प्रधानमन्त्रीसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय भएको महासचिव दाहालले बताए । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासंघले दिएको छ ।

तत्काल दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासंघका महासचिव दाहालले जोडदार माग गरेका छन् । साथै, देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन पुनः एक पटक सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया