पाण्डेको ‘एक ज्यान दुई जुनी’ बजारमा

काठमाडौं । नागरिक अभियन्ता देवेन्द्रराज पाण्डेद्वारा लिखित आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ बजारमा आएको छ । फाइनप्रिन्टले प्रकाशन गरेको उक्त पुस्तकलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो । पुस्तकको पहिलो चरणमा दरबार, पञ्चायत, त्यसबेलाको निजामती प्रशासनका भित्री–बाहिरी पक्षलाई चित्रण गरिएको छ ।

बौद्धिक एवं नागरिक अभियन्ता पाण्डेले २०१७ सालपछिको ६० वर्ष सार्वजनिक जीवनमा समर्पित गरेका छन् । काठमाडौंको मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट प्रवेश गरेर त्यसको १८ वर्षमै अर्थ मन्त्रालयको सचिव बनेका थिए । त्यसपछि देशप्रतिको निष्ठा जोगाउन जनमतसंग्रहका बेला राजीनामा दिएका थिए उनले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरलाई मानेका छन् । यस्तै, दोस्रो जुनीमा उनले काठमाडौं केन्द्रित सोचबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहेको एक जना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको परिवेशलाई चित्रण गरेका छन् ।

उनले पुस्तकमा सहभागितामूलक, समावेशी र जनताप्रति उत्तरदायी गणतन्त्रात्मक व्यवस्थाका लागि गरेको संघर्षलाई उतारेका छन् । जसमा जागरूक नागरिकका आशा, सपना र गणतन्त्रपछि नेतृत्वमा पुगेका नेताहरूको शासन शैलीका कारण निराश बनेका आमनेपालीको विषयलाई जीवन्त रुपमा विवेचना गरिएको छ । पुस्तकमा पाण्डेले नेपालको विकास यात्रा, सुशासनका सर्त, दाताहरूसँगका सम्बन्धका जटिलता, हाम्रो छिमेक सम्बन्धका केही आयाम र राजनीतिका अनेक पात्रहरूका सम्बन्धमा एउटा तटस्थ मूल्यांकनसमेत गरिएको छ ।

पुस्तकका बारेमा लेखक खगेन्द्र संग्रौलाले पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरित्रको व्यक्ति रहेको बताए । उनले भने, ‘सार्वजनिक जीवनमा प्रवेश गरेपछि उहाँ विभिन्न क्षेत्रमा आबद्ध हुनुभयो । दलीय राजनीति, मानवअधिकारको क्षेत्र, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, विकास विमर्श र नागरिक आन्दोलन आदिमा उहाँको योगदान रहेको छ । पछि लोकतन्त्र, गणतन्त्र र संघीयताको आन्दोलनमा सडक संघर्षकै माध्यमबाट पनि संलग्न हुनुभयो । ७८ वर्षको उमेरमा समेत मधेस आन्दोलनका लागि तराईका विभिन्न भाग पुग्नुभयो ।’

संग्रौलाले इतिहासका सबै पदचाप पाण्डेको कानमा गुञ्जिएको जिकिर गरे । उनले भने, ‘आफ्नै जीवनलाई फर्केर हेर्दा आफैंले सुनेका पदचापहरूलाई शब्दमा रूपान्तरित गर्दै लेखिएको हो यो पुस्तक ।’ पाण्डे देशका जुनसुकै तह र तप्काका मानिसले आफ्नो हकअधिकार पाउनुपर्छ भनेर लड्ने व्यक्ति भएको पुष्टि हुने संग्रौलाको भनाइ छ । उनले थपे, ‘पाण्डे जति क्षेत्रमा संलग्न हुनुभयो, जहाँजहाँ उहाँले कर्म गर्नुभयो, सबै ठाउँमा छाप छाड्नुभएको छ । अर्थसचिव र अर्थ मन्त्रलयमा वैदेशिक सहायता शाखामा रहँदा आफूले गरेका काम र भूमिकाका सन्दर्भ यहाँ जसरी आएका छन् ।’ पुस्तकमा आजको समयमा पनि विकास चिन्तन, वैदेशिक सहायता, विदेश सम्बन्ध र आफ्ना राष्ट्रिय स्वार्थहरूको प्रतिनिधित्व एउटा प्रशासकले कसरी गर्न सक्छ र गर्नुपर्छ भन्ने विषयलाई उधिनिएको संग्रौलाले बताए ।

लेखक पाण्डेले राजनीतिक स्थिरता आदि भएर युगौंदेखि आफ्नो उपस्थिति जनाउन नसकेको समाजका लागि केही काम सरकारले ग¥थ्र्यो कि भन्ने आश लागेकोमा राजनीतिक व्यक्तित्व र समाजका केही तह एवं तप्काले त्यो काम गर्न नसकेको दुखेसो पोखे । उनले भने, ‘जुन उद्देश्यले नागरिक आन्दोलन भयो, आन्दोलनमार्फत सात दल र माओवादीलाई शान्तिप्रक्रियामा अग्रसर हुन उत्प्रेरित गरियो, जसका आधारमा दोस्रो जनआन्दोलनसमेत खेपेर मुलुकले राजनीतिक रूपमा नयाँ संरचनाअन्तर्गत काम सुरु ग¥यो । त्यसपछि कमसेकम जनउत्तरदायी सरकार, राजनीतिक स्थिरता आदि भएर युगौंदेखि आफ्नो उपस्थिति जनाउन नसकेको समाजका लागि केही काम सरकारले ग¥थ्र्यो कि भन्ने आश लागेकोमा राजनीतिक व्यक्तित्व र समाजका केही तह एवं तप्काले त्यो काम गर्न सकेनन् ।’

उनले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण भएर लागू भइसकेपछि पनि यहाँको राजनीति र अर्थतन्त्रले जुन कोल्टे फेर्नुपर्ने थियो, त्यसो नहुँदा आफूलाई सधैं विरक्त लाग्ने गरेको सुनाए । उनले भने, ‘मैले आफ्नै जीवनलाई फर्केर हेरें, आखिर मैले पनि जीवनमा के गरेँ त ? आफ्नै आत्मसमीक्षा गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले यो पुस्तक रचना हुने आधार बन्यो र कुनै एक रात म सुत्न नसकेको अवस्थामा यसको खाका तयार पारेँ । बिस्तारै लेख्दै गएँ, मिलाउँदै गएँ । अन्ततः यो पुस्तकले साकार रूप लियो ।’

फाइनप्रिन्टका अजित बरालले पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवन कम तर आफूले बाँचेको समय, गरेका काम, आफूले डो¥याएको नागरिक आन्दोलन लगायतका विषयलाई चित्रण गरेको बताए । उनले भने, ‘यो पुस्तक नेपाली समाज, राजनीति, इतिहास र अर्थतन्त्र चियाउने आँखिझ्याल पनि हो । यो कृति आत्मवृत्तान्त होइन, पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरूको सार हो ।’ बरालले न्यारेसनका लागि जीवनयात्राको त्यान्द्रो समात्ने क्रममा अलिकति व्यक्तिगत, पारिवारिक जीवन भोगाइका अनुभूतिजन्य निजात्मकता अवश्य पनि पुस्तकमा घुसेको बताए । उनले थपे, ‘तैपनि यो संस्मरणको पुस्तक होइन । जेजति निजी सन्दर्भ छन्, ती सबै त्यतिबेलाको समय चिनाउने आँखिझ्याल हुन् ।’

वि.सं. १९९६ भदौमा काठमाडौंमा जन्मिएका पाण्डे २०१७ साल चैतमा तत्कालीन श्री ५ को सरकारको निजामती सेवाअन्तर्गत शाखा अधिकृत पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए । २०३६ साल फागुनमा अर्थसचिवबाट स्वेच्छाले राजीनामा दिएका थिए । अर्थमन्त्रीसमेत भएका पाण्डेले २०१४ सालमा त्रिचन्द्र कलेजबाट बिए र २०१६ सालमा इलाहावाद विश्वविद्यालयबाट एमकम डिग्री हासिल गरेका छन् । उनले संयुक्त राज्य अमेरिकाको पिट्सवर्ग विश्वविद्यालयबाट २०२० सालमा आर्थिक विकास मुख्य विषय लिई सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स डिग्री (एमपिआइए) एवं २०२५ सालमा सोही विश्वविद्यालयबाट पिएचडी गरेका छन् ।

प्रतिक्रिया