बामदेवको एकता अभियान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक विभाजनपछि तेस्रो खेमाका रुपमा उभिनु भएका बामदेव गौतमले आजबाट एकता अभियान सञ्चालन गर्ने भएका छन् । गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
‘पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं’, गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ ।’

बामदेव ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी आएका समाचारको पनि गौतमको सचिवालयले खण्डन गरेको छ । विज्ञप्तिमा राष्ट्रिय समाचार समितिले गलत समाचार लेखेर विभिन्न सन्चार माध्यमलाई उपलब्ध गराएको उल्लेख छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा दुईवटा चिरामा परेको छ । बामदेवले भने आफ्नो पक्षधरता देखाएका छैनन् । निर्वाचन आयोगले टुक्रिएको नेकपालाई मान्यता नदिने निर्णय गरेपछि सत्तारुढ दलभित्रको विवाद नयाँस्तरमा देखिएको छ ।

प्रतिक्रिया