सुन्तलाबाट जुस र बोक्राबाट सौन्दर्य सामग्री

स्याङ्जा । पुतलीबजार–३, बाडखोलाकी अन्जु शर्माले आफ्नो ब्युटीपार्लरमा चाहिने फेसियल सामग्री आफैं उत्पादन गर्न सक्छिन् । तीन दिनको तालिमले शर्मालाई ब्युटी पार्लरको फेसियल सामग्री आफैं उत्पादन गर्न सिकाएपछि उनी निकै खुसी छिन् । शर्मा भन्छिन्, ‘लाखौँको क्रिम, फेसियल सामग्री किन्न परेको थियो । अब त आफैं उत्पादन गर्न सक्ने भएँ, त्यो पनि हाम्रै क्षेत्रमा पाइने सुन्तलाको बोक्राबाट ।’ सुन्तलाको गुदी खाने र बोक्रा फाल्ने हाम्रो प्रचलन भए पनि अहिले यस तालिममा सहभागीहरू खोजीखोजी बोक्रा संकलन गर्न थालेका छन् ।

पुतलीबजारमा आयोजना गरिएको तीनदिने तालिममा सुन्तलाबाट जुस र बोक्राबाट सौन्दर्य सामग्री बनाउन सिकाइएको थियो । सूर्योदय क्लबको व्यवस्थापन तथा पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो । कोभिड–१९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गतको तालिममा सुन्तलाको चिया, फेसियल पाउडर, जुस र स्क्वास बनाउन सिकाइएको हो ।

‘पुतलीबजार नगरपालिकाले आफूलाई सुन्तला सहरको रूपमा विकास गरेको छ । यो सहरभित्र सुन्तलाको दाना, बोक्रा र गुदीबाट बन्न सक्ने सबै परिकार उत्पादन गर्दै रोजगारीको सिर्जना गर्ने हाम्रो लक्ष्य हो ।’ सूर्याेदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।

यो तालिममा सहभागीलाई ८५ प्रतिशत अनुदानमा व्यावसायिक सामग्रीसमेत वितरण गरिएको थियो । १८ जना सहभागीलाई पहिलो चरणमा उद्यमी बनाउने बोक्रा प्रशाधन गर्ने मेसिन र जुस उत्पादन गर्ने मेसिन वितरण गरिएको कार्यक्रम संयोजक एलिना ढकाल बताउँछिन् ।

पुतलीबजार नगरभित्र उत्पादन भएको सुन्तलाको सबै परिकार बिक्री गर्न कोसेली घरको निर्माण गर्ने कार्यविधि नगरले अघि बढाएको नगरप्रमुख सिमाकुमारी क्षत्रीले बताइन् । उनले भनिन्, ‘अब नगरभित्र उत्पादन भएको कोदो, मकै, सुन्तलाको जुस, फेसियल सामग्रीलगायत सबै कोसेली पाइने एउटै सानो निर्माण गर्दैछौँ ।’ नगरभित्रको उत्पादन कोसेली घरमा ल्याउने व्यवसायीलाई घरभाडा निःशुल्क गरिदिने क्षत्रीको भनाइ छ ।

यो तालिमलाई व्यावसायिक बनाउनसके बर्सेनि झरेर खेर जाने कुहिने र सानो दाना भएको कारण बोटमै छाडिने सुन्तलाको समेत सदुपायोग हुने सुन्तला कृषकको भनाइ छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया