सबै प्रदेशमा कोरोना खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजसम्म सातवटै प्रदेशमा पुग्ने भएको छ । काठमाडौंबाट दुई वटा ट्रकमा सातै प्रदेशका लागि पहिलो चरणको खोप पठाइएको हो । भारतले १० लाख डोज पठाएपनि पहिलो चरणका लागि भनेर ४ लाख ५० खोप मात्र पठाइएको छ । स्वास्थ्य सेवा विभागको कोल्ड स्टोरबाट दुई वटा ट्रकमा खोप पठाइएको छ । एउटा ट्रकले बागमति, प्रदेश–२ र प्रदेश–१ को खोप लिएर गएको विभागले जानकारी दिएको छ । अर्को ट्रकले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खोप लगेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबार रातिसम्म पुग्ने अनुमान गरिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । प्रदेश पुगेका खोपलाई आवश्यकता अनुसार प्रदेशले नै जिल्लामा पठाउने छ । पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने प्रवक्ता गौतमले बताए । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्की, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ । दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

शनिबार मन्त्रालयले खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक समेत तोकेको छ । खोप अभियानलाई व्यवस्थित बनाउन उनीहरुले समन्वयनकारी भूमिका खेल्नेछन । मन्त्रालयले प्रदेश–१ का लागि डा. तारानाथ पोखरेल, प्रदेश–२ का लागि डा. मदनकुमार उपाध्याय, बागमती प्रदेशका लागि डा. गुणराज लोहनी, गण्डकी प्रदेशका लागि प्रा. डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा. विकास देवकोटा, कर्णाली प्रदेशमा डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा. कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकेको छ । उनिहरुलाई काठमाडौंबाट प्रदेशमा खोप लाने, त्यहाँ सम्बन्धितलाई हस्तान्तरण गर्ने, जिल्लामा आवश्यकता अनुसार सुनिश्चित गर्ने, खोप केन्द्र हेर्ने लगायत समन्वयनको जिम्मेवारी दिइएको छ ।

सरकारले जिल्लामा पुगेपछि माघ १४ गतेबाट खोप अभियान शुरु गर्ने तयारी गरेको छ । तर, आवश्यक तयारी नपुगेकाले त्यही शुरु हुन्छ भन्नेमा शंका रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले माघ १४ देखि ढिलोमा १८ गतेसम्म खोप लगाउन शुरु गर्ने जानकारी दिएको छ । खोप लगाउन शुरु गरेको एक सातामा साढे चार लाख खोप लगाईसक्ने लक्ष्य राखिएको छ ।

भारत सरकारले बिहीबार (माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । सरकारले कुल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसंख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ । अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया