सावित्राको लोभलाग्दो कौसीखेती

बुटवल । रूपन्देही तिलोत्तमा–५ मणिग्राम सिद्धार्थ पथकी सावित्रा भण्डारी बिहान हुनासाथ घरको छतमा पुग्छिन् । छतमा कौसीखेती गरेकी उनले तरकारी, फलफूल र फूलका विरुवाहरूमा पानी हाल्छिन् । सुकेका पात टिप्छिन् । केही समय कौसीखेतीमा भुलेपछि मात्र घरभित्रको काम गर्छिन् । लक डाउनअघिसम्म सावित्राको दैनिकी यस्तो थिएन । बिहान उठ्ने उही घरायसी काममा व्यस्त हुने थियो । तर, लक डाउनले उनको दैनिकी फेरिएको छ । लक डाउनमा विद्यालय नखुल्दा छोराछोरी घरमै बसे । उनीहरूकै स्याहारसुसारमा व्यस्त सावित्रा एकदिन सामाजिक सञ्जालमा कौसी खेतीका बारेमा देखिन् । त्यसपछि उनले आफैं कौसीखेती गर्ने योजना बनाइन् । यो कुरा छिमेकी कल्पना भण्डारीलाई सुनाइन् । तरकारीसँगै फलफूल पनि रोप्ने भन्दै रमेश पाण्डेलाई भनिन् । सबैले सहयोग र हौसला दिएपछि उनले लक डाउनकै बीचमा कौसीखेती सुरु गरिन् ।

पाँच वर्षअघि तिलोत्तमा बसाइँसराइ गरी आएकी सावित्राका पति विदेशमा छन् । दुई सन्तानसहित तिलोत्तमा–५ मणिग्राम सिद्धार्थ पथमा बस्दै आएकी सावित्राको कौसीखेती साच्चै लोभलाग्दो छ । १० धुरमा बनेको एक तले घरको छतमा लटरम्म टमाटर फलाएकी छिन् । साग, गोभी, भन्डा र फलफूलका विरुवाले हरियाली मात्र बनेको छैन । घरकै सुन्दरता बढाएको छ । कौसीमा तरकारी लगाउँदा कुहिने फोहोरलाई व्यवस्थापनसमेत गर्न सकिने भएकाले लक डाउनपछि कौसीखेती सुरु गरेको सावित्राले बताइन् । ‘घरमा सामाजिक सञ्जालमा रमाउनुभन्दा करेसाबारीमा भुल्दा छुट्टै आनन्द आउने रहेछ । त्यसैले पनि तरकारी र फूलका विरुवाहरू रोपेँ’, उनले भनिन् ।

बाहिरको भन्दा स्वस्थकर हुने भएकाले कौसीको तरकारी राम्रो हुने उनको भनाइ छ । अहिले सावित्राले गोभी, धनिया, प्याज, साग, सिमी, भिन्डी, खुर्सानी, काक्रा लगायतका तरकारी कौसीमा लगाएकी छन् । तरकारी मात्र होइन उनले सयपत्री, गोदावरी, मखमली, धुपी, स्विकस, बेगमबेली, डग फ्लावरका विरुवाहरू समेत उनले रोपेकी छन् ।

घरको छतमै च्याउ खेतीसमेत गरेकी छन् । गड्यौला मल बनाउने योजनासमेत अघि बढाएकी सावित्राले कौसीखेती गर्नेहरूका लागि स्थानीयतहले तालिम दिएमा आपैmँ स्वाबलम्बी बन्न सकिने बताउँछिन् । बजारमा दैनिकजसो तरकारीको मूल्यवृद्धिको हैरानी भएका सावित्राजस्तै धेरैले अहिले विकल्पमा कौसी खेतीलाई अगाडि सारेका छन् । कौसी खेतीबाट घरको कुहिने फोहोर व्यवस्थापनमा सहयोग पुग्नेसमेत भएकाले अहिले रूपन्देहीमा कौसीखेती गर्नेहरूको लहर नै चलेको छ ।

रूपन्देहीको तिलोत्तमा, बुटवल, सिद्धार्थनगर, सैनामैना, देवदह लगायतका क्षेत्रमा अहिले कौसे तरकारीखेती गर्न थालिएको छ । सामान्यतया कौसीखेती भन्नाले घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नुलाई बुझिन्छ । कौसीको खाली ठाउँको सदुपयोगबाट अर्गानिक तरकारी खेती गर्न सकिने र सानो परिवारलाई वर्षभरि पु¥याउन सकिने भएकाले पनि कौसी खेतीमा धेरै आर्कषित भएका छन् ।

उक्त टोलमा कौसी खेती गर्ने सावित्रा एक्ली भने होइनन् । अहिले सोही टोलमा कल्पना भण्डारी, छविकला ढकाल, विष्णु गौतम, सम्भयता प्रोखेल, सुनिता पोख्रेलले समेत कौसी खेती गर्दै आएका छन् । टोलले अघि सारेको ‘एक घर एक बगैचा तथा कौसी खेती’ अभियान अनुसार टोलमै कौसी खेतीको सुरुआत गरिएको स्थानीय कल्पना भण्डारीले बताइन् ।

‘घरमा बस्दा मनमा धेरै कुरा खेल्ने भएकाले पनि हामीले यो कौसी खेतीलाई अभियानै चलाएर गर्नुपर्छ भन्ने लाग्यो । मैले मात्र कौसीमा फलाएको सिमीबाट घरमा खाएर पनि १६ केजी बिक्री गर्न सकँे’, उनले भनिन् । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले कौसीखेती गर्नेहरूका लागि नगरपालिकाले बिउ र प्राविधिक सहयोग गर्ने बताउँछन् । ‘हामीले यसलाई अभियानकै रूपमा लैजाने योजना बनाएका छाँै । अहिले टोलहरू हामीले सिजन अनुसारका बिउवीजन दिन थालेका छौँ । छिट्टै अभियानको सुरुआत हुन्छ’, उनले भने ।

प्रतिक्रिया