मोरङ पथरीका भण्डारीको मृत्यु प्रकरण : सत्यतथ्य छानविन गर्न परिवारको माग

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरीखिस्तिका १९ वर्षीय सन्दीप भण्डारीको शंकास्पद मृत्यु भएको भन्दै निष्पक्ष छानविन र दोषीलाई कडा कारबाही गर्न पीडित परिवारले माग राखेका छन् । मृतकका आफन्तहरूले घटनाको सत्यतथ्य छानविनगरी दोषीलाई कारबाही गर्न पीडित परिवारले पत्रकार सम्मेलन गरी माग गरेका हुन् । गत पुस १४ गते भण्डारीको पथरी शनिश्चरे नगरपालिको मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृतक अवस्थामा शव भेटिएको थियो । बाँस्कोटाको घरमा सुत्न जाने भन्दै भण्डारी १३ पुुसमा बाँस्कोटाको घरमा गएका थिए ।

मृत अवस्थामा फेला परेका भण्डारीको शरीरमा नीलडाम र कानमा पनि चोट देखिएको मृतकका आमा राधिका भण्डारीले बताइन् । छोराको मृत्यु नभएर हत्या भएकोले प्रहरीले गहन रूपमा अनुसन्धान गरी दोषिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने उनले माग गरिन् । ‘छोराको मृत्यु भएको यतिका दिन भयो अहिलेसम्म प्रहरीले आरोपीलाई ल्याएर अनुसन्धान गरेको छैन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मेरो छोरा मृत्यु नभएर हत्या भएको हो । मैले किटानी जाहेरी पनि दिएको एक साताभन्दा बढी भयो । अहिलेसम्म प्रहरीले दोषीलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छैन ।’

उनका परिवारले बाँस्कोटाविरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएको बताए । तर, यस विषयमा प्रहरीले हालसम्म घटनाको अनुसन्धानसमेत नगरेको पीडित परिवारको गुनासो छ । ‘छोराको मृत्यु भएको दुई साता भयोे,’ उनले भनिन्, ‘छोराको स्वभाविक मृत्यु नभई नियोजित हत्या भएको देखिन्छ । तैपनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।’ दोषीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दासमेत प्रहरीले गम्भीरता नदेखाएको मृतकका बाबु गोपाल भण्डारीले बताए । पीडित परिवारले सत्यतथ्य बाहिर ल्याउन माग राखेका छन् ।

केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी बाँस्कोटाले प्रयोग गर्दै आएको परिवारको आरोप छ । उनीहरूका दुई छोरा मात्र छन् । कलिलो उमेरमा छोराको मृत्युु भएपछि परिवार मात्र होइन जिनिखिम्ती गाउँ नै अहिले शोकमा छ । कानुुनको विद्यार्थीसमेत रहेका भण्डारी कोरोना कहरका कारण गत चैत महिनाका काठमाडाैंबाट आफ्नो घर आएका थिए । घरको अवस्था कमजोर भएपछि आपैmँले केही कमाइ गरेर पढ्ने उद्देश्य राखेको आमा राधिकाले बताइन् ।

यता इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले भिसेरा रिपोर्ट आइनसकेकोले अहिले नै एकिन हुन नसकेको बताए । आफू सरुवा भएर आउनुभन्दा अगाडिको घटना भएकोले यस विषयमा अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । ‘पोस्मार्टम रिपोर्ट आए पनि भिसेरा रिपोर्ट अहिले आइसकेको छैन,’ डिएसपी खड्काले भने, ‘भिसेरा रिपोर्टबाट धेरै कुरा खुल्छ । हामी त्यसैको पर्खाइमा छौँ ।’

प्रतिक्रिया