प्रचण्ड–नेपाल समुहको शक्ति प्रर्दशन

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ‘दाहाल नेपाल’ समूूह ले काठमाडौँको भृकुटीमण्डपमा शुुक्रबार प्रतिनिधिसभा विघटनविरुद्घ आयोजना गरेको विरोधसभामा सहभागी । तस्वीर : रासस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे देशमा द्वन्द्व र अराजकता आउन सक्ने चेतावनी दिएका छन् । उनले असंवैधानिक कदमलाई खारेज गर्न सडकबाट सर्वोच्च अदालतलाई भनेका हुन् । प्रतिनिधिसभा विघटनका विरुद्ध नेकपाको दाहाल–नेपाल समुहले राजधानीमा गरेको शक्ति प्रर्दशनलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन सदर भए त्यसले शान्ति प्रक्रियालाई पछि धकेल्ने बताए । त्यस्तो अवस्थामा आफूले लाखौं मान्छे सडकमा उतारेर शान्तिपूर्ण आन्दोलन गर्ने समेत घोषणा गरेका छन् । अध्यक्ष दाहालले कसरी द्वन्द्व र अराजकता आउँछ भनेर प्रष्ट भने पारेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथी आक्रोश पोखेका उनले आफ्नो असंवैधानिक कदममार्फत् ओलीले संविधान र शान्ति प्रक्रिया दुवैलाई विघटन गर्न चाहेको आरोप लगाएका छन् । ‘यो देशमा फेरि युद्ध होस, फेरि हिंसा होस, फेरि अराजकता होस, फेरि आन्दोलन गर्ने परिस्थिति बनोस् भन्ने कसैले पनि चाहेको छैन’, उनले भने । अध्यक्ष दाहालले सर्वोच्च अदालत र निर्वाचन आयोगले सच्चिनुपर्ने बताए । उनले सर्वोच्च अदालतले देशमा द्वन्द्व र अराजकता, हिंसा चाहेको कल्पना आफुले गर्न नसक्ने भन्दै पुनःस्थापनामा साथ दिनुपर्ने माग गरे । ‘सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरू यो देशमा फेरि द्वन्द्व, फेरि अराजकता, फेरि हिंसा चाहनुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिन’, उनले थपे, ‘तर यदि केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठह¥याउने काम भयो म फेरि युद्धमा जाने वा हिंसाको कुरा भने छैन ।’

उनले निर्वाचन भयो भने शान्तिपूर्ण ढंगले जनतालाई सडकमा ल्याएर निरकुंशता सच्याउने प्रयास भने जारी राख्ने बताए । ‘शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामा प्रतिबद्धता जनाएर तीन–तीन वटा चुनाव हामीले लडिसक्यौँ । तर यदि त्यस्तो भयो भने शान्तिपूर्ण ढंगले निरन्तर लाखौँ लाख जनता अपील गरेर निरकुंशता सच्याउने मेरो प्रयास भई नै राख्छ’, उनको भनाई थियो । उनले अदालतले ओलीको निरकुंशतालाई प्रोत्साहित गर्ने काम गरे देशलाई बरबाद हुने दिशातर्फ उन्मुख गराउने चेतावनी दिए ।

दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना पनि गरेका छन् । ‘तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्,’ उनले भने, ‘सम्झाइ, बुझाइ, फकाइ गरेँ, अलि उदारता देखाएँ । कतिपय उनका कुरा मान्दिएर पार्टी पनि बच्ने र देश पनि अगाडि बढ्ने जाने हो कि भन्ने तर त्यस्तो गर्न सकिने रहेन छ । हामीले सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न सकिएन म तपाईंहरुको अगाडि आत्मआलोचना गर्न चाहन्छु ।’

कार्यक्रममा दाहालभन्दा अगाडी बोलेका सो समुहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताएका छन् । उनले ओलीलाई नझुकाएसम्म आन्दोलन जारी रहेने घोषणा समेत गरेका छन् । ‘एउटा कुरा कसैले भ्रममा नराख्नु होस् । फेरि केपी ओलीसँग यो नेकपाले झुक्ने कुनै काम गर्ने छैन । अब फेरि सँगसँगै जाने स्थिति बन्ला भनेर कसैले भ्रम नपाले हुन्छ,’ उनले भने ।

अदालत र निर्वाचन आयोगप्रति टिप्पणी नगरेका नेपालले भाषण अवधिभर ओलीको आलोचना गरेका थिए । उनले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गर्ने प्रक्रिया अगाडि बढिसकेको समेत जानकारी गराए । ‘केपी ओलीलाई कम्युनिष्ट पार्टीको सदस्यबाट निस्कासन गर्यौं । उहाँले स्पष्टीकरणको जवाफ दिनु भएको छैन,’ अध्यक्ष नेपालले थपे, ‘म भर्खर सुर्खेतबाट आउँदै छु । कतै चिठी आइहाल्यो कि ? सुध्रेको कुनै कागज आएको छ कि ? गल्ती गरेको स्वीकार गरेका छन् कि ? कतै माफी मागेका छन् कि ? कतै प्रतिनिधिसभा विघटन गर्नु गलत हो, त्यो पुनःस्थापना गर्न म पनि जुलुसमा हुन्छु भन्छन् कि ? मान्छेले गल्ती गर्छन् अपराध गर्छन् । अनि समयमा सच्चिन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । केही फरक पर्दैन । हैन भने सुरुमै माफी दिउँला । केही फरक पर्दैन ।’

अध्यक्ष नेपालले फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले शंका गरेको बताए । उनले ओलीले ५० वर्षसम्म दुःख मात्रै दिएको गुनासो समेत पोखे । ओलीलाई साईबर सेना र अरिंगालमात्रै मन पर्ने नेपालको भनाइ छ । ‘उहाँलाई साइबर सेना मन पर्छ । उहाँलाई अरिंगाल मन पर्छ । तर हामी त्यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ । हामीले केपी ओलीलाई ठीक ठाउँमा ल्याउन सकेनौं,’ नेपालले भने ।

रत्नपार्कको मुल सडकमा गरिएको सभाले दिनभर राजधानीको ट्राफिक व्यवस्था भने अस्तव्यस्त भएको थियो । काममा निस्किएका सर्वसाधारण समयमा निश्चित गन्तब्यमा नपुग्दा सराप्दै हिडेका भेटिन्थ्ये । दाहाल–नेपाल समुहले सभाअघि राजधानीका विभिन्न ९ स्थानबाट जुलुस निकालेको थियो । विगतमा जस्तो अमर्यादित नारा नलागोस् भने नारा तय गरेर कडाईका साथ पालना गराउन निर्देशन दिइएको थियो ।

प्रतिक्रिया