चार प्रदेशमा पहिलो चरणमा निर्वाचन

काठमाडौं । सरकारले बैशाखमा हुने भनिएको मध्यावधि निर्वाचन दुई चरणमा गर्ने घोषणा गरिसकेको छ । बैशाख १७ र २७ गते हुने निर्वाचनमा पहिलो चरणमा चार प्रदेशको गर्ने तयारी गरेको हो । सरकारी स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश–२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने प्रस्ताव राखेका छन् । बैशाख २७ गते सोमबार भने प्रदेश–१, बागमति र कर्णाली प्रदेशमा निर्वाचनमा गराउने गरी तयारी भएको छ । यो विषय स्वयम प्रधानमन्त्री ओलीले पनि सार्वजनिक गरिसकेका छन् ।

सरकारले निर्वाचन आयोग र सुरक्षा निकायसँग यो प्रस्तावका विषयमा छलफल शुरु गरेको छ । तर, अहिले नै निर्णय भने भइसकेको छैन । विशेष गरी सुरक्षालाई ध्यानमा दिएर चार र तीन प्रदेशको अवधारणा ल्याइएको सरकारी स्रोतको भनाई छ । नेकपामा देखिएको विभाजनले गर्दा पनि निर्वाचन बिथोलिन सक्ने आशंकाका बीच नयाँ रणनीति अख्तियार गरेर प्रस्ताव गरेको हुन सक्ने सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश ंदुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु’, उनले भने । उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरे । अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराए । प्रधानमन्त्री ओलीले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिदै यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न पनि सुझाव दिए ।

प्रतिक्रिया