बाजुराका दुर्गम बस्तीमा ल्याब सेवा

बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दुर्गम बस्तीका स्थानीयहरूको स्वास्थ्य जाँचमा सहज पुग्ने गरी गाउँमै ल्याब सेवा सुचारु गर्ने भएको छ । देशकै विकट तथा पिछडिएको क्षेत्रमा पर्ने बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने मेसिनरी औजार नहुँदा यहाँका स्थानीयले ल्याब जाँच गर्नु परेमा दुई दिन हिँडेर कोल्टी तथा मार्तडी धाउनुपर्दथ्यो ।

विकट क्षेत्रका स्थानीयहरू बिरामी भएका समयमा उनीहरूको प्राथमिक उपचारमा सहज भए पनि ल्याब जाँच गर्न भने अन्यत्र धाउनुपर्ने अवस्था थियो । यो समस्याको समाधानका गाउँमै ल्याब सेवा सुचारु गरेको हिमाली गाउँपालिकाले जनाएको छ । यस क्षेत्रका महिलाले गर्भवती जाँच गर्नुपरे पनि हिँडेर कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा धाउनुपर्ने समस्या थियो । अहिले घरमै यो जाँच हुने भएपछि आफूलाई निकै हर्षित भएको हिमाली गाउँपालिकाल स्थानीय महिला हिउकला रोकायाले बताए ।

उनले भनिन्, ‘यसअघि ल्याब जाँच गर्ने उपकरण नहुँदा यहाँका अधिकांश महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको थियो ।’ यसभन्दा पहिला गाउँपालिका क्षेत्रभित्र अस्पताल तथा चिकित्सकीय सेवा नहुँदा यस क्षेत्रका मानिसहरूले सिटामोल किन्न पनि दुई÷चार घण्टाको बाटो हिँड्नु पर्दथ्यो । अहिले वडावडामा आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी स्थापना भएका छन् । जसले गर्दा यहाँका स्थानीयलाई आधारभूत स्वास्थ्य संस्थाबाट सहजरूपमा स्वास्थ्य सेवा लिँदै आएका छन् । दुई वर्षमै गाउँपालिकाले गरेको यो कार्य निकै महत्वपूर्ण भएको स्थानीय महिला धिकला रावतले बताइन् ।

स्वास्थ्य परीक्षणका लागि आवश्यक हुने औजार नभएकोले स्वास्थ्य संस्थामा आएका बिरामीहरूलाई ल्याब जाँचका लागि कोल्टी तथा मार्तडी पठाउने गरेका थियाँै । यो अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले अहिले यस क्षेत्रका लागि धुलाचौर स्वास्थ्य केन्द्रमा उपकरणसहितको ल्याब सेवा सुचारु गरिएपछि यहाँका गरिब तथा विपन्न परिवारका बिरामीहरूको ल्याब जाँच गर्नुपरेमा निक सहज हुने हिमाली गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक अधिकृत राजबहादुर भण्डारीले बताए ।

उनले भने, यहाँका स्थानीयले बिरामी हुँदा क्षयरोग, मलेरिया, कालाजार, यौन तथा सरुवा रोग, रगत, दिशा पिसाबलगायत कोल्टी तथा मार्तडीमा धाउनुपर्ने निकै समस्या थियो । अहिले यो सबै जाँच धुलाचौरमा नै हुने भएको छ । गाउँपालिकाको आर्थिक लगानीमा यो स्वास्थ्य प्रयोगशाला स्थापना गरी सेवा सुचारु गरिएको स्वास्थ्यशाखा प्रमुख भण्डारीले बताए । संयोजक भण्डारीले भने, ‘ल्याब सेवा सञ्चालनका लागि गाउँपालिकाले ल्याब टेक्निसियन दीपक भण्डारीलाई करार सेवामा भर्ना गरिएको छ ।’

प्रतिक्रिया