प्रतिनिधि सभा विघटनको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि भएको सुनुवाइ आइतबारका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। संवैधानिक इजलामा भएको बहस पूरा नभएपछि आइतबार लागि ‘हेर्दाहेर्दै’ मा राखिएको हो। शुक्रबारको बहसमा सहभागी हुँदै राजुप्रसाद चापागाईं दुई वर्षसम्म सरकारले संविधानमा व्यवस्था गरिएको अविश्वासको प्रस्ताव दर्ता गराउन नपाइने व्यवस्थाको लाभ लिएको तर सो समयसीमा पूरा हुने बितिकै प्रतिनिधि सभा नै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको बताएका थिए।

उनले संसदप्रति उत्तरदायी हुनु पर्ने प्रधानमन्त्रीले दुई वर्ष कट्नेबितिकै प्रतिनिधि सभालाई नै विघटन गरेर असंवैधानिक कदम उठाएको उल्लेख गरे। संसदमा बहुमत भएनभएको परीक्षण गर्न पनि संसदमा जानुपर्नेमा प्रतिनिधिसभा नै विघटन गर्नु संविधानसम्मत नहुने उनको तर्क थियो।

बहस लामो हुन थालेपछि शुक्रबार बहस सुरु हुने बित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहस गर्ने वकिलहरु धेरै भएकाले छोटो बहस गर्न आग्रह गरेका थिए। उनले भनेका थिए, ‘हामी २ महिनासम्म बहस गर्न परे पनि दिन तयार छौं, तर कति लम्ब्याउने भन्ने तपाईंहरुको कुरा हो, छोटो–छोटो बहस गर्नुहोला।’ गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा रिट निवेदकका तर्फबाट बहस भइरहेको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट दर्ता भएका थिए। सबै रिटको संवैधानिक इजलासमा बहस भइरहेको छ। बहसमा बोल्ने वकिलहरुले समय बढी लिएपछि बढीमा आधा घन्टाको समय बुधबारबाट निर्धारण गरिएको थियो। तर वकिलहरुले निर्धारित समयसीमा पालना गरेका छैनन्।

प्रतिक्रिया