संगीतको तालमा झुमेका श्याम

काठमाडौं । नुवाकोटको सुनखानीमा जन्मिएका श्यामबहादुर विश्वकर्मा बाद्यवादनमा अब्बल कलाकारका रुपमा चिनिन्छन् । स्कुले जीवनदेखि बाद्यवादनमा लगाव राख्दै आएका श्यामले मादल तथा ढोलक वादनमा लामो अनुभव बटुलेका छन् । २०५६ सालमा एसएलसी उत्तीर्णपछि अध्ययनको सिलसिलामा राजधानी आएका कलाकार श्याम सानैदेखि सांगीतिक क्षेत्रमा क्रियाशील छन् । संगीतको हरेक धारमा रुचि भएका कारण उनले २०५७ सालमा राष्ट्रिय नाचघर जमलमा मादल वादनको प्रशिक्षण लिए । त्यसपछि श्यामले काठमाडौं सुन्धारामा सञ्चालित पुकार दोहोरी साँझबाट रोजगारीको सुरुवात् गरेका थिए । उनको संगीत तथा मादल बजाउने यात्रा क्रमशः कोशी दोहोरी साँझ, गाउँले दोहोरी साँझ, गोधुली दोहोरी साँझ, कलंकी दोहोरी साँझ, काली गण्डकी दोहोरी साँझ लगायतका थुप्रै दोहोरी साँझसम्म पुग्यो ।

साथै उनले नेपाली लोकबाजा संग्रहालयमा पनि मादल र ढोलक बादनको ज्ञान वृद्धिका साथ अनुभव बटुलेका छन । कलाकार श्यामले बाद्यवादन तथा संगीत प्रशिक्षण केन्द्रमा मादल र ढोलक बादनको प्रशिक्षण दिन थालेको बताए । समय अनुसार आफूलाई सक्रिय बनाउनुपर्छ भन्ने मान्यता राख्ने उनले मादल र ढोलकका साथ प्रख्यात ताल बाजा अक्टोप्याड बादनमा पनि आफूलाई जोड्न सफल भए । अक्टोप्याड बादनमा पनि आफूलाई जोड्न सफल भएपछि पछिल्लो समय देशभर आयोजना हुने धार्मिक कार्यक्रम भागवतमा कहिले मादल, कहिले ढोलक तथा अक्टोप्याड बादकको भूमिका अत्यन्तै अब्बलताका साथ भूमिका निर्वाह गरेका थुप्रै अनुभव उनीसँग छन् ।

नेपाली सांगीतिक क्षेत्रमा कुशल बाद्यवादकको रुपमा चिनिएका श्यामलाई तालबाजाको ज्ञान धेरै भए पनि कहिलेकाँही प्रत्यक्ष कार्यक्रममा गाउने पनि गरेको सुनाए । संगीतका प्रायः विधामा सक्षम रहेता पनि आफूलाई कतै चिनाउनु पर्दा मादल बादक भनेर चिनाउने गरेको उनले बताए । उनले भने, ‘मनुष्य जिउने क्रममा जति सुखसयल, हाँसो खुसीले दिन सिँगारिए पनि जीवनको अन्त्य निश्चित छ । जसरी दिन गुजारे पनि मेरो जीवन गीतलाई सिंगार्ने तालमै झुमिरहेको छ । झुम्दाझुम्दै चोलाको विश्राम होस् तर, जिउँदा गीत संगीत र बाद्यवादनबाट वञ्चित हुन नपरोस ।’ उनले आफ्नो अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न र नेपालका मौलिक बाजाप्रति जागरण ल्याउन राज्यले काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया