ऋषिराजले थाले ‘चुरीफुरी’

काठमाडौं । हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका हाँस्य कलाकारलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ चलचित्र ‘चुरीफुरी’ को छायांकन गरिरहेका छन् । केही दिनदेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको यो चलचित्रको मुख्य कलाकारको नाम भने गोप्य राखिएको छ । निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको ‘चुरीफु्री’ मा अभिनेता रवीन्द्र झा, शिषिर भण्डारी, दीपक आचार्य (काकु), सुवोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिष्मा मगर, मनिल तामाङ, रश्मी आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।

आरबी मुभिजको ब्यानरमा निर्देशक आचार्य स्वयं र रिना ढकाल निर्माता रहेको चलचित्रको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । निर्देशक आचार्यले ‘चुरीफुरी’ लाई मनोरञ्जनको नौलो प्याकेजका रुपमा चर्चा गर्दै सामाजिक तथा पारिवारिक कथा चलचित्रमा रहेको जिकिर गरे । ‘अहिले विश्व नै कोरोना भाइरस र बन्दाबन्दीका कारण असहज जीवन बिताउन मानिस बाध्य भएका छन् ।

यो परिस्थितिबाट उत्पन्न दिक्दारीलाई ‘चुरीफुरी’ ले भरमार रिफ्रेस गराउने छ,’ निर्देशक आचार्य भन्छन्, ‘एकदम समसामयिक विषयमा उत्कृष्ट मनोरञ्जन दिने कोशिस चलचित्रमार्फत गरेका छौ ।’ राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको यस चलचित्रका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको आवाज छ । छायांकन सकिएसँगै हिरोहिरोइन लगायत चलचित्रबारे बिस्तृत जानकारी दिइने तयारी निर्माण पक्षको रहेको छ ।

प्रतिक्रिया