बाइडन मन्त्रिपरिषद्मा १२ महिला

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले निर्वतमान राष्ट्रपतिको निर्णय उल्टाउदै काम शुरु गरेका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका छन् ।
कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन् । ‘हामीले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’, शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नुअगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए । उनले कोरोनाभाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तीव्र पार्न कार्यकारी आदेशहरू जारी गरेका छन् । उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ ।

यसैबीच, राष्ट्रपति बाइडेनले मन्त्रिपरिषद् गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा उपराष्ट्रपति कमलादेवी ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख छन् । २६ मन्त्रिस्तरको पदमा १२ जना महिला छन् । बाइडेन मन्त्रिपरिष्दमा ह्यारिससहित ६ जना अश्वेत, एक आदिवासी अमेरिकन, ४ ल्याटिनो, २ एसियन र १२ जना श्वेत अमेरिकी छन् ।

विदेशमन्त्रीमा एन्टोनी ब्लिंकेन, अर्थमन्त्रीमा डा. जानेट एलेन, रक्षामन्त्री लोएड अस्टिन, न्यायमन्त्री बेरिक गाल्र्यान्ड, सेक्रेटरी अफ इन्टेरियर डेब हाल्यान्ड, कृषिमन्त्री टम भिल्स्याक र सेक्रेटरी अफ कमर्स जीना राइमान्डो छन् । यसअघि बाराक ओबामाको मन्त्रिमण्डलमा ४२ प्रतिशत अश्वेत मन्त्री थिए । ट्रम्प प्रशासनमा यो अनुपात जम्मा १२ प्रतिशत थियो ।

ओबामाको समावेशी सूचकलाई पनि बाइडेन प्रशासनले उछिनेको छ । कतिपय अमेरिकी मिडियाले बाइडेन प्रशासनलाई इन्द्रेणी क्याबिनेटको संज्ञा दिएका छन् । मुलुकको बदलिँदो चाहना र आवश्यकता अनुसार बाइडेनले मन्त्रिपरिषद् गठन गरेको भन्दै नागरिक आन्दोलनका अगुवाले प्रशंसा गरेका छन् । एसियाबाट नीरा टन्डन र क्याथरिन टाइ मन्त्रीमा नियुक्त भएका छन् । अमेरिकाको कूल जनसंख्यामा एसियन अमेरिकन संख्या ६ प्रतिशत छ ।

प्रतिक्रिया