पुस्तक विमोचन तथा कला प्रदर्शनी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले चारवटा पुस्तक बजारमा ल्याएको छ । प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेद्वारा लिखित ‘शशी शाहः कलायात्रा’ र ‘एनाटोमी’ तथा डा. रामकुमार भौकाजीद्वारा लिखित ‘कला स्रष्टाः कुलमान सिंह भण्डारी’ र ‘जुद्धकला पाठशाला’ नामक पुस्तकको विमोचन गरियो ।

पुस्तकको विमोचन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले संयुक्त रुपमा गरे । घिमिरेद्वारा लिखित शशी शाहः कलायात्रा पुस्तकमा अग्रज कलाकार शशीविक्रम शाहको कृतित्व र व्यक्तित्वको चर्चा गरिएको छ । कलाकार शाहको कलायात्रा तथा कलाकृतिका बारेमा जानकारी लिन उक्त पुस्तक निकै उपयोगी रहेको छ । यस्तै, कला शिक्षामा मानवीय शरीरको अध्ययन निकै महत्वपूर्ण मानिन्छ । त्यसै विषयमा केन्द्रित रही घिमिरेले एनाटोमी विषयमा आधारित रहेर निकालेको पुस्तक कला अध्ययन गर्न चाहने र कला बुझ्न चाहने जोकोहीलाई सन्दर्भसामग्री हुने विश्वास लिन सकिन्छ ।

त्यस्तै, डा. भौकाजीद्वारा लिखित ‘कला स्रष्टाः कुलमान सिंह भण्डारी’ पुस्तकमा अग्रज कलाकार कुलमानको व्यक्तित्व र कृतित्वलाई चित्रण गरिएको छ । नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान दिएका भण्डारीको कलाकारी तथा सामाजिक व्यक्तित्वका विषयमा लेखक डा.भौकाजीले विश्लेषणात्मक ढंगले पुस्तकमा चर्चा गरेका छन् । यस्तै, डा.भौकाजीले लेखेको जुद्धकला पाठशाला पुस्तक नेपाली कला शिक्षा बुझ्ने सामग्रीको रुपमा आएको छ । विमोचित पुस्तकमाथि डा.यामप्रसाद शर्माले समीक्षात्मक टिप्पणी गरेका थिए ।

यसै सन्दर्भमा सातै प्रदेशबाट सात जना कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी गरिएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा निर्मित कलामा प्रदेश अनुसारका संस्कृति, प्रकृति तथा जनजीवनलाई क्यानभासमा उतारिएको छ । प्रदर्शनीमा कलाकार सन्तोष राई प्रदेश १, हरिओम मेहत्ता प्रदेश २, उद्धव रिमाल वागमती, पकबहादुर थापा गण्डकी, विक्कु थापा लुम्बिनी, कौशल हमाल कर्णाली र प्रदीप पल साउद सुदूरपश्चिम प्रदेशबाट सहभागी भएका छन् । प्रतिष्ठानका अनुसार सात प्रदेशबाट सातजना कलाकारद्वारा गत आ.व. निर्माण गरिएका कलाकृति प्रदर्शनीमा राखिएको हो । ९ माघसम्म चल्ने उक्त प्रदर्शनीमा सात प्रदेशका ७ कलाकारका १४ चित्र समावेश छन् ।

प्रतिक्रिया