दूधमा आत्मनिर्भर बन्दै प्रदेश–१

‘दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने तथ्यलाई आमनागरिकले ग्रहण गर्नसकेमा प्रदेश–१ बाट ‘मिल्क होली डे’ समाप्त हुने देखिएको छ । शरीरका लागि अत्यधिक पोषिलो र लाभदायक मानिने दूध र दुग्धजन्य पदार्थको सेवनमा पछिल्लो समयमा मानिसहरू थप आकर्षित भएको पाइएको छ । आमनागरिकमा शाकाहारी बन्ने र अर्गानिक खानेकुराको सेवन गर्ने बानीको विकास भएसँगै दूधको सेवन पनि बढ्न थालेको यस क्षेत्रका किसानको अनुभव छ ।

दूधबाट बन्ने परिकारतर्फ आकर्षित हुँदै मानिसहरूले पछिल्लो समयमा दूधभन्दा पनि दुग्धजन्य पदार्थहरू जस्तै दही, मिठाइ, पनिर, घिउमा अझ बढी जोड दिन थालेको पाइएको छ । दूध सेवन नगर्ने मानिसहरूले पनि चाडपर्वमा विभिन्न परिकार बनाउनका लागि दूधको प्रयोग भने गर्ने गरेका छन् । यसैकारणले पनि सो समयमा बजारमा दूध अभाव हुने गरेको व्यवसायीहरू बताउँछन् । कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका प्रदेश सरकारले गएको वर्षमा कृषि क्षेत्रको विकास गर्न ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । कृषकको हकहितका लागि आवश्यक निजी, सार्वजनिक र सहकारी अवधारणलाई अगाडि बढाएर कृषिजन्य उत्पादनको मात्रा बढाउने र यस प्रदेशमा कृषिको विकास गर्ने अवधारणा रहेको प्रदेश–१ सरकारले जनाएको छ ।

यस प्रदेशमा दूधमा हुँदै आएको मिल्क होलि डे समस्यालाई समाधान गर्न दुग्धको पाउडर प्लान्ट बनाउने उद्देश्य लिएको प्रदेश सरकारले सुनसरीको तरहरामा यससम्बन्धी एक बृहत् आयोजना स्थापना गर्न लागेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । ३२ करोड रुपैयाँको लागतमा निर्माण गरिने सो आयोजनाका लागि प्रदेश सरकारले २० करोड अन्य रकम निजी वा सहकारी माध्यमबाट व्यहोर्ने पशुपक्षी महाशाखाका प्रमुख पशुपति ढुंगानाले बताए ।

उनले यसका लागि विशिष्टिकृत सहकारी संघ गठन भइसकेकाले अब छिट्टै यो परियोजना कार्यान्वयनतर्फ अघि बढ्ने बताए । प्रदेश सरकारले यो संघसँग सम्झौता गर्ने अवस्थामा परियोजनाको निम्ति आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिए । विगतमा कृषकले उत्पादन गरेको दूध बिक्री नहुने र किसानहरूले आयआर्जनका लागि गरेको पशुपालनबाट उत्पादित दूध बिक्री नहुँदा पेशा वा व्यवसायप्रति कृषकको मोह हट्ने भएकाले सरकारले पाउडर प्लान्टको अवधारणा ल्याएको छ । यो पाउडर प्लान्टले कृषकको दूध बिक्री नहुने समस्यालाई अन्त्य गर्ने विश्वास प्रदेश सरकारको रहँदै आएको छ ।

कामधेनु दुग्ध विकास सहकारीका व्यवस्थापक कृष्ण घिमिरेले उपभोक्ताको मागभन्दा ३० हजार लिटर दूध यस प्रदेशमा बढी भइरहेकाले दुग्धलाई खेर जान नदिन पाउडर प्लान्टको आवश्यकता छ र यो आवश्यकतालाई पूरा गर्न सरकारले पाउडर प्लान्ट बनाउने योजनालाई मूर्त रुप दिनुपर्ने आवश्यकतामा जोड दिएका छन् । सोही सहकारीका कार्यकारी निर्देशक गजेन्द्र बस्तीले १५ हजार लिटर दुग्ध दैनिक प्रशोधित हुने कामधेनुलाई अझ सेवा विस्तारमा लागेको जानकारी दिए । उनका अनुसार संस्थालाई सुनसरी, झापा, इलाम, धनकुटा र मोरङका कृषकबाट दुग्ध प्राप्त हुँदै आएको छ ।

कृषि उत्पादनलाई बढावा दिन आयातित हुने वस्तुमा नियन्त्रण हुनुपर्ने सहकारी पदाधिकारीको भनाइप्रति मन्त्रालय पनि सहमत भए पनि विदेशबाट भने दूधको पाउडर आउन रोकिएको छैन । यसले गर्दा विदेशी यस्ता दुग्धको गुणस्तर नहुने र सस्तोमा बजारमा पाउँदा उपभोक्ता पनि त्यही खरिद गर्ने भएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन् ।

दुग्धमा हुँदै आएको होली डेलाई समाप्त पार्न विराटनगरस्थितका दुग्ध विकास संस्थानले पनि पाउडर प्लान्ट सञ्चालन गरेको छ । बन्दाबन्दी भन्दा केही समय पहिले सुरु भएको पाउडर प्लान्टमा दैनिक ६ मेट्रिक टन उत्पादन हुने गरेको प्रमुख गणेश यादवले जानकारी दिए । दुग्ध, घिउ, पनिर, दही, पेडा, लस्सीसमेत उत्पादन गरेर बिक्रीवितरण गरेको संस्थानको उत्पादनको बजार सुरक्षित राख्नु विदेशी वस्तु आयातमा रोक लगाउनुपर्ने प्रमुख यादवले बताए । यस क्षेत्रमा एक सरकारीसहित १८ वटा दुग्ध सहकारी संस्था रहेका छन् । सोमध्ये पाँच वटा मोरङमा नै छन् ।

खाद्य निर्देशिका–२०७५ लागू भएमा सबै स्वदेशी लगानी वा विदेशी लगानीबाट स्थापित उत्पादन केन्द्रहरू आफैँ नियमनमा आउने र स्वदेशी उत्पादनले राम्रो बजार पाउनसक्ने यस क्षेत्रमा कार्यरत मानिसहरूको भनाइ छ । दुग्ध विकास संस्थानले दैनिक ३५ हजार लिटर दुग्ध प्रशोधन गरी बिक्री वितरण गर्ने गरेको प्रमुख यादवले बताए । पाउडर प्लान्ट निर्माण गर्न संस्थानले सात करोड रुपैयाँ भन्दा बढी खर्च गरीसकेको छ ।
प्रदेश–१ मा चार वटा चिज उत्पादन केन्द्र र आठ वटा दुग्ध चिस्यान केन्द्र इलाममा रहेका छन् । दुग्ध विकास संस्थानले बाक्लो दूध प्रतिलिटर ९२ रुपैयाँ र पातलो दूध प्रतिलिटर ७६ रुपैयाँका दरले बिक्री गरेको छ भने संस्थानले आफ्नै परिसरभित्र आफना उत्पादन उपभोक्तालाई खुलारुपमा बिक्री वितरण गर्दै आएको छ ।

यस्तै यहाँ वार्षिक ३ लाख ८४ हजार २ सय ७६ लिटर दुग्ध उत्पादन हुने गरेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । जसमा २ लाख ८८ हजार १ सय ६० वटा गाईबाट १ लाख ७१ हजार ९ सय ३० लिटर र २ लाख २६ हजार ७ सय ८३ भैँसीबाट २ लाख १२ हजार ३ सय ४७ लिटर दूध वार्षिक रूपमा उत्पादन हुने गर्दछ । देशको कूल उत्पादनमा प्रदेशले २० दशमलव ७ प्रतिशत योगदान दिएको मन्त्रालयको तथ्यांक छ ।

दूधमा आत्मनिर्भर यो प्रदेशमा गाईको दूधको उत्पादनको २६ दशमलव ७ प्रतिशत र भैँसीको दूधको उत्पादन देशको कूल भैँसीको दूध उत्पादनको १५ दशमलव ५ प्रतिशत योगदान रेहको छ । जिल्लागतरूपमा हेर्दा दूध दिने गाईको संख्या सुनसरी, मोरङ, झापा तथा इलाममा बढी छ भने दूध दिने भैँसीको संख्या सुनसरी मोरङ र उदयपुरमा बढी छ । यस प्रदेशमा गाईको दूध उत्पादनमा झापा, इलाम र भैंसीको दुध उत्पादनमा मोरङ, सुनसरी र झापा अगाडि छन् ।

अहिले बजारमा खुल्ला दूध पनि बिक्री भइरहेका छन् । यस्ता दूधविना प्रशोधित रहेकाले यसको सेवनबाट मानिसहरूको स्वास्थ्यमा समस्या आउने, विभिन्न रोगको सिकार बन्ने भएकाले यसतर्फ उपभोक्ता सचेत हुनुपर्ने कृषि निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले बताए । उपभोक्ताले जहिले पनि प्रशोधित दूध नै खानुपर्ने भएकोले यस विषयमा उपभचोक्ताहरूमै व्यापकमात्रामा चेतना जगाउनुपर्ने उनले बताए ।

बजारमा पाउने सस्तो पाउडर दूधको गुणस्तर निकै नै कमजोर रहने भएकाले यसतर्फ उपभोक्ता सचेत हुनुपर्ने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता रामचन्द्र उप्रेतीले बताए । सुनसरी गढी गाउँपालिकाअन्तर्गत छपकी निवासी तपेश्वर यादवले विगत ३० वर्षदेखि गाउँमा दूध संकलन गरेर उपभोक्ताको घरघरमा पु¥याउँदै आएका छन् । उनले प्लास्टिक तथा टिनको बाल्टिनमा दूध हालेर उपभोक्तालाई बिक्री गर्दा व्यापार त चलेको छ तर उनकोे खुल्ला दूध स्वास्थ्यका लागि हानिकारक छ भन्ने ज्ञान उनैलाई पनि छैन । उनी जस्तै हजारौँ मानिसले खुला दूध बेचरे जीविकोपार्जन त गरिरहेका छन् तर त्यसबाट हुने खतराबाट सचेत रहनका लागि सरकारले नियम लगाउँदा कृषकहरूले आफ्नो दूध बिक्री भएन भनेर विरोधस्वरुपमा बाटोमा खन्याउने गरेका पनि देखिएको छ । उनीहरूको यस कार्यबाट सरकारलाई भने नियम निर्माण गर्न तथा त्यसको कार्यान्वयन गर्न नै मुस्किल परिरहेको अवस्था आएको स्थानीय बताउँछन् ।

मोरङको मोतिपुर गाउँमा स्थापित भगवती दूध डेरी उद्योगले स्थानीयस्तरबाट लगभग दुई सय लिटर दूध संकलन गरी उपभोक्तालाई खुलारूपमा बिक्री गरिरहेको छ । यो डेरीले खुला दूध प्रतिलिटर ७० रुपैयाँमा डिलरलाई बिक्री गर्ने गरेको र डिलरले ७५ रुपैयाँ प्रतिलिटरमा उपभोक्तालाई बिक्री गर्ने गरेको छ । आफूहरूले बिक्री गर्ने गरेको दूध खुला भए पनि गुणस्तरमा कुनै कमी नभएकाले माग बढिरहेको सो डेरीका सञ्चालकले बताए । यस्तो अवस्थामा मोरङकै सुन्दर हरैँचामा सञ्चालनमा रहेको दूध डेरी उद्योगबाट दूध खरिद गरी उपभोक्तालाई बिक्री गर्ने गरेको भगवती दुग्ध डेरीका सञ्चालक ज्ञानेन्द्र अधिकारीले बताए ।

प्रतिक्रिया