स्याउ बगैँचा व्यवस्थापनमा किसान

जुम्ला । जिल्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारीले यो याममा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । उनले भने, ‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन ।’ जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका विरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ जुम्लाका कार्यालय प्रमुख नमराज भण्डारीले बताए । उनले भने, ‘जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन बगवानी अनुसन्धान केन्द्र राजिकोट कार्यालयको विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले गुठीचौर, तातोपानी, पातारासी र चन्दननाथ नगरपालिकाका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाटदेखि स्याउ व्यवस्थापन गरेका छन् ।’

हाल जिल्लाभर सात लाख नर्सरी विरुवामा उत्पादन भएता पनि परियोजना कार्यान्वयन एकाई जुम्लाको प्राविधिक मापदण्डभित्रका गुणस्तर विरुवा करिब ३ लाख ५० हजार छ । विरुवा लगाउने किसाले सुपरजोनको मापदण्डले तोकेका विरुवा मात्र लगाउन सुपरजोन कार्यालयका प्रमुख भण्डारीले बताए । स्याउ प्रविधिकको सल्लाहअनुसार गुणस्तर बिरुवा किनेर बगैँचा लगाउन किसानलाई जानकारी दिएको सो कार्यालयले जनाएको छ । विरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्को स्याउको विरुवासम्म ६ मिटरको दुरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, ‘एक–एक मिटर लम्वाइ, चौडाइ र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ ।’
खाडलखन्दा माथिल्लो सतहको माटो एकातर्फ र तल्लो सतहको माटो अर्कोतर्फ राख्नुपर्ने कार्यालय प्रमुख देवकोटाले बताए । खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोस्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर विरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरिता महतले बताइन् । सो शाखाले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका विरुवा रोपीसक्नुपर्ने जनाएको छ । स्याउका विरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखी स्याउ खेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछीराम महतले बताए ।

जिल्लामा ४ हजार २ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । सो परियोजना अहिले जिल्लाको चार स्थानीय तहमा लागू भएको छ ।

प्रतिक्रिया