दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

बुटवल । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ प्राप्त गरेका छन् ।

अनुदानलाई साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत् बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए । सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष ०७६/७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

मंगलबार दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत् किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरूप झण्डै ३७ लाख रुपैयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरील बताइन् ।

यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा–१४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख २६ हजार ८ सय ५२ रुपैयाँ प्राप्त गरेको छ । यस्तै वडा–१४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैयाँ, वडा–१२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५ सय २७ रुपैयाँ, वडा–६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५ सय ५७ रुपैयाँ प्राप्त गरेको छ ।

गत वर्षको तुलनामा यो वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख रुपैयाँ बढी अनुदान रकम प्राप्त गरेका छन् । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दूध सहकारीमार्फत् बिक्री वितरण हुने भएको छ ।

अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा तिलोत्तमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताउँदै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताए । सरकार र सहकारीको संयुक्त लगानीमा तिलोत्तमा नगरपालिकाको वडा–६ मा युएचटी दुग्ध प्रशोधन परियोजना निर्माण कार्य अघि बढेको छ ।

प्रतिक्रिया