‘उडियाना–उडिसाका पद्मसम्भव’ बजारमा

काठमाडौं । डा. विमलेन्दु मोहन्तीद्वारा सम्पादित ‘उडियाना–उडिसाका पद्मसम्भव’ बजारमा आएको छ । पुस्तकमा ऐतिहासिक खोज, तथ्य र पुरातात्विक अभिलेख समेतका आधारमा विभिन्न विद्वानका लेख समाविष्ट गरिएको छ । बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे) को विशेष योगदान छ । तिब्बतमा उनलाई बौद्ध धर्म बिस्तार गर्ने जस जान्छ । त्यस्तै, भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्रको लिइन्छ । मोहन्तीद्वारा सम्पादित उक्त पुस्तकमा बौद्ध धर्म तथा संस्कृतिका महत्वपूर्ण थलो र गुरुबारे जानकारी दिन्छ । वि रिडले बजारमा ल्याएको पुस्तकमा नेपाल, भारत, तिब्बत, भुटानको सामाजिक जीवनमा बौद्धधर्मको खास प्रभावलाई समेत समेटिएको छ । पुस्तकमा इसापूर्व २६१ मा भारतका सम्राट अशोकको पालामा बुद्ध धर्मले राजधर्मको मान्यता पाएको विषयलाई समेत उल्लेख गरिएको छ ।

त्यसपछि बौद्ध धर्मले विश्वमा फैलियो र अनेक रुप र पद्दतिको विकास हुँदै अगाडि बढ्यो । तीमध्ये महायान र बज्रयानको विकास भारतैक उडिसामा भएको मानिन्छ । आठौं शताब्दीपछिका बौद्ध धर्मका स्रोत उडियाना र त्यहाँका राजा इन्द्रभूतिसँग पनि जोडिन्छ । पद्मसम्भव कमलको फूलबाट जन्मेको र तन्त्रका ज्ञाता मानिने भएकाले र तिब्बतसँगको सम्बन्ध रहेको विषयलाई समेत पुस्तकमा चर्चा गरिएको छ । त्यस्तै, पुस्तकमा बौद्ध धर्मका फरक चरण, फरक आयाम र यसको बिस्तारमा पद्मसम्भवको भूमिकालाई चर्चा गरिएको छ । पद्मसम्भवले नेपाल भ्रमण गरेका तथ्यबारे समेत धेरै चर्चा हुने गरेको छ । मुस्ताङदेखि फर्पिंङसम्म पद्मसम्भवसँग जोडिएका गुम्बा र गुफा भेटिएका छन् । पुस्तक बौद्ध इतिहास बुझ्न चाहनेका लागि निकै उपयोगी छ ।

प्रतिक्रिया