राष्ट्रिय एकता जाँंदैछ कता ?

डा. डिआर उपाध्याय

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अरू राज्यका जनताको मन जितेरै एकीकरण गरेका थिए । सैनिक कारबाही त अन्तिम अवस्थामा औपचारिकता दिन राजदरबारमाथि मात्रै गरिएको थियो । लगभग ९० प्रतिशत जति समय तथा स्रोत त पृथ्वीनारायण शाहले आफ्ना प्रतिनिधि तथा गुप्तचरलाई संबन्धित राज्यमा फिट गरेर त्यहाँका जनतालाई हात लिने काममा खर्च गरेका थिए । नेपाल उपत्यकाका तीन वटै राज्यका साहु महाजन, बुद्धीजीवी तथा भद्रभलाद्मीहरू जनतालाई साथ लिएर गोप्य रूपमा पृथ्वीनारायण शाहलाई आमन्त्रण गर्न गएको, ठूलो आर्थिक सहयोग गरेको यथार्थतालाई चटक्कै बिर्सेर बन्दुक तथा खुँडा खुकरीकै बखान गर्ने गल्तीलाई सच्याइ हाल्नुपर्छ ।

पहिलेको भन्दा निकै बढी उमंग, उत्साहपूर्वक यस पटकको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो । यद्यपि, राष्ट्रनिर्माताको सालिकमुनि प्रहरीले धरपकड ग¥यो । जसलाई लिएर घटनास्थलमै उपस्थित प्रसिद्ध नायिका मनीषा कोइरालाले भनिन्, ‘मैले आशा गरेको थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ तर व्यवहार ठीक उल्टो देखियो ।’ पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती मनाउन पुगेकाहरू भन्छन्, ‘राष्ट्रनिर्माताको अवमूल्यन भयो, नागरिकको राष्ट्रिय एकताको भावनामाथि प्रहार भयो ।’

गोरखाका राजा नरभूपाल शाहको ज्येष्ठ सुपुत्रका रूपमा वि.सं. १७७९ मा गोरखा दरबारमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । २० वर्षको उमेरमा गोरखाका राजा भएका पृथ्वीनारायण शाहले त्यस बेलाका सेन राज्यलगायत नेपाल उपत्याकाका तीन राज्य काठमाडौं (कान्तिपुर), पाटन (ललितपुर) र भादगाउँ (भक्तपुर) मा विजय हासिल गरेका थिए । सिधा अर्थमा गोरखा राज्यको विस्तार थियो त्यो । पृथ्वीनारायण शाहले पटकपटकको आक्रमणपछि विजय पाएका ती राज्य आधुनिक नेपालमा मिलाएका थिए । यसरी पृथ्वीनाराण शाह आधुनिक नेपालका राष्ट्रनिर्माता बन्न पुगे ।

पृथ्वीनारायण शाहले आरम्भ गरेको एकीकरण अभियानलाई उनका कान्छा छोरा फत्तेबहादुर शाह र जेठी बुहारी राजेन्द्रलक्ष्मी सेन शाहको पालामा अझ बिस्तार गर्दै तेब्बर पारियो तर नाती रणबहादुर शाह निकम्मा भएकोले मुलुकको शासन सत्ता भीमसेन थापाजस्ता मोजमस्तीमा रम्ने व्यक्तिका हातमा पुग्यो । जसका कारण करिब ४० प्रतिशत भूभाग गुमाएर अंग्रेजसँग आत्मसमर्पण गर्न नेपाल वाध्य भयो । यो घटनालाई सुगौली सन्धीका रूपमा लिने गरिन्छ । सुगौली सन्धी यता मुलुकमा धेरै राजनीतिक काण्ड भएका छन् । तर २००७ सालको जनक्रान्तिले बाहेक नेपालको राष्ट्रिय एकतामा अरू क्रान्ति तथा आन्दालनले बल पु¥याएका छैनन् । ०१७ सालमा तत्कालीन राजा महेन्द्रले चालेको कदम, माओवादीका नाममा १० वर्षसम्म चलेको द्वन्द्व तथा ०६४ सालमा अन्तरिम संविधान जारी गरिएपछि मधसीदलका नाममा भएको गतिविधिलले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाएको छ । यी तीन वटा कदम मध्ये ०१७ सालमा तत्कालीन राजा महेन्द्रले चालेको कदमको उद्देश्य राष्ट्रिय एकतालाई झन् मजबुत बनाउने नै थियो, तर ढंग नपुग्दा झन् कमजोर भयो ।

पृथ्वीनारायण शाहले दिएको दिव्योपदेशलाई राजा महेन्द्रले बुझ्न नसकेका कारण राष्ट्रिय एकता कमजोर भयो । माओवादी र मधेसीदलका नाममा गतिविधि अघि बढाएको शक्तिले राजा महेन्द्रले रोपेको विषवृक्षलाई उपयोग ग¥यो ।
वास्तवमा मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्म बस्ने सबैलाई आफू नेपाली हौँ भन्ने एसहास गराएको २००७ सालको क्रान्तिले हो । जुन क्रान्तिमा मुलुकका सबै जातजाती, भाषाभाषी तथा क्षेत्रका जनताहरू एउटै झण्डामुनि आवद्ध भएर संघर्षमा होमिए । सबै नेपालीले सामुहिक प्रयत्न गरेको २००७ सालमै पहिलोपटक हो । तर, त्यो प्रयत्न ०१७ सालदेखि ब्रेक लग्यो । अहिले पनि त्यसको असर बाँकी नै छ । उदाहरणका लागि पृथ्वीनारयण शाहका शालिक ढाल्ने, उनको अपमान गर्ने तीतो यथार्थता त छँदैछ, पृथ्वीजयन्ती मनाउनेहरूले पनि फराकिलो ढंगले सोचेर वातावरण बनाउन सकेको देखिँदैन । पुस २७ गते बाहुन र क्षेत्रीको एउटा झुण्ड पृथ्वीनारायण शाहको शालिकमुनी पुग्दैमा राष्ट्रिय एकता बलियो हुँदैन । नेवार समुदाय धिमे बाजा बजाउँदै पुग्नु पर्छ, तामाङ समुदाय डम्फु बजाउँदै पुग्नुपर्छ । यसगरी आ–आफ्ना झाँकी लिएर लिम्बु समुदाय, थारू समुदाय तथा मधेसी समुदाय पनि पुग्नुपर्छ । तर, यो वातावरण निर्माण गर्नेतर्फ सोचिएको खोई ?

बन्दुकको नाल र खुँडा खुकरीको माध्यमबाट आफ्ना पुर्खाले नेपाल एकीकरण गरेको भन्दै जबसम्म मुलुकको निश्चित जाति तथा समुदायले घमण्ड प्रदर्शन गर्ने सिलसिला जारी रहन्छ तबसम्म राष्ट्रिय एकता बलियो हुँदैन । ‘तिमीहरूको पुर्खालाई हाम्रा पुर्खाले युद्धद्वारा पराजित गरेका हुन्’ भन्ने सन्देश नेवार, तामाङ, राईलिम्बु, मधेसी समुदायले ग्रहण गर्ने गरी पृथ्वी जयन्ती मनाउनु भनेको राष्ट्रिय एकतालाई झन् कमजोर बनाउनु हो । बास्तवमा नेपालको एकीकरण कसरी भयो ? भन्ने सही इतिहासलाई ओझेलमा पारिएको छ । जबकी राष्ट्र निर्माता पृथ्वीनारायण शाहले अरू राज्यका जनताको मन जितेरै एकीकरण गरेका थिए ।

सैनिक कारबाही त अन्तिम अवस्थामा औपचारिकता दिन राजदरबारमाथि मात्रै गरिएको थियो । लगभग ९० प्रतिशत जति समय तथा स्रोत त पृथ्वीनारायण शाहले आफ्ना प्रतिनिधि तथा गुप्तचरलाई संबन्धित राज्यमा फिट गरेर त्यहाँका जनतालाई हात लिने काममा खर्च गरेका थिए । नेपाल उपत्यकाका तीन वटै राज्यका साहु महाजन, बुद्धीजीवी तथा भद्रभलाद्मीहरू जनतालाई साथ लिएर गोप्य रूपमा पृथ्वीनारायण शाहलाई आमन्त्रण गर्न गएको, ठूलो आर्थिक सहयोग गरेको यथार्थतालाई चटक्कै बिर्सेर बन्दुक तथा खुँडा खुकरीकै बखान गर्ने गल्तीलाई सच्याइ हाल्नुपर्छ । सहमतिद्वारा गरिएको प्रयत्न एकीकरण हो, युद्धद्वारा गरिएको प्रयत्न विस्तार हो । पृथ्वीनारायण शाहले सहमतिको प्रयत्नद्वारा धेरैजसो राज्यलाई नेपालमा गाभेका हुन् । वल्लो किराँत, माँझ किराँत र पल्लो किराँत एवं तराई क्षेत्र त लिखित संझौताद्वारा नै नेपालमा गाभिएको प्रमाणित इतहास छ । यस्तो प्रमाण हुँदाहुँदै ‘तिम्रा पुर्खालाई हाम्रा पुुर्खाले युद्धद्वारा पराजित गरेका हुन्’ भन्दै किन थोत्रा गाला बजाइरहने ? कसको स्वार्थका लागि यस्ता थोत्रा गाला बजाउने ?

२००७ सालमा जब नेपालमा प्रजातन्त्र आयो, राष्ट्रनिर्माताका रूपमा चिनिएका पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया सुरु गरेको तथ्य पाइन्छ । २००९ सालमा योगी नरहरिनाथले सरकारसँग समन्वय गरेर एउटा समिति गठन गरेका थिए । त्यसपछि हरेक वर्ष पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती तथा एकतादिवस मनाउँदै आएको थियो । तर ०६२÷६३ को आन्दोलनबाट गणतन्त्र आएपछि गणतन्त्रवादीले पृथ्वीनारायण शाहको शालिक भत्काउनेसम्मको कार्य गरे । पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउन तथा एकतादिवस भनेर दिइने बिदासमेत बन्द भयो ।

नेपाली जनमानसमा सधैँ सान्दर्भिक बहसको गम्भीर विषय रहने राष्ट्रिय एकता देशको पहिलो प्राथमिकतामा रहनुपर्छ । यद्यपि अहिलेको राजनीतिक अवस्थाले राष्ट्रिय एकतालाई दिनप्रतिदिन खण्डित पार्दै लगेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र उत्कर्षमा रहेको विभाजनको वितण्डा, प्रमुख विपक्षी नेपाली कांग्रेस होस् वा अर्को प्रमुख राजनीति कदल जनता समाजवादी पार्टी सबैमा वैचारिक विखण्डनले जरो गाडिसकेको छ । नेकपाको ओली समूह र दाहाल–नेपाल समूह एकअर्काप्रति आक्रामक भइरहेका छन् । दुवै समूहले आफ्नो आधिकारिकता दाबी गर्दै सम्बन्धित राज्य संयन्त्र तथा नेकपा समर्थकहरूलाई आ–आफ्नो पक्षमा राख्न हर सम्भव प्रयास गरिरहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको देउवा र पौडेल गुट फरक मतसहित प्रतिनिधिसभा पुनस्र्थापना एवं निर्वाचनमा जानुको औचित्यलाई जायज ठह¥याउन लागि परेका छन् । यस्तै जसपामा पनि दुई धार देखिएको छ । पार्टीको अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव र उनको समूह प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा छ भने अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरतसिंह भण्डारी पार्टी कार्यकर्ताबीच निर्वाचनको वातावरण बनाउँदै लगेका छन् ।

यसरी राणाकालीन निरंकुश तानाशाहीदेखि विभिन्न कालखण्डमा गरिएका क्रान्ति, जनआन्दोलन र सशस्त्र माओवादी संघर्षबाट अहिलेको लोकतन्त्रको मुकाममा नेपाली जनता आइपुगेका छन् । हरेक पटकको राजनीतिक परिवर्तनलाई बहुमूल्य उपलब्धिका रूपमा लिने गरिएको छ । स्वाभाविक रूपमा प्रजातन्त्र–लोकतन्त्रमा राजनीतिक विचारधाराका आधारमा एक धारको व्यक्तिले फरक धारको व्यक्तिलाई आफ्नो प्रतिस्पर्धी वा प्रतिद्वन्द्वी मान्दछ । तर, यस्तो प्रतिद्वन्द्विताले मानिस–मानिसबीचको भावनात्मक एकतालाई जसरी विखण्डित गर्न थालेको छ, त्यसबाट वास्तवमा राष्ट्रिय एकता आहत बन्न पुगेको छ । जातीय भेदभावका आधारमा हुने गरेका रुकुम–चितवनमा समाजलाई कलंकित पार्ने गरी भएको प्रेम सम्बन्धको परिणतिले कतै न कतै मानवीय एकताका प्रयासलाई चोट पु¥याइरहेको छ । राजनीतिक भाषणमा राष्ट्रिय एकता, भाइचारा, आपसी सौहाद्र्रका मीठा–मीठा शब्दहरू प्रवाहित गर्ने अधिकांश राजनीतिकर्मीले आफ्ना प्रतिस्पर्धीलाई जन्मजात शत्रुका रूपमा लिने गरेका कारण गाउँघर, सहर, समाजमा जताततै भावनात्मक विषको ढल बगिरहेको छ ।

सत्ता स्वार्थका लागि अहिले राजनीतिक दलहरू बीचको विभाजन–विखण्डनले आगामी दिनमा नेपाली–नेपालीबीचको एकतालाई तहसनहस बनाउने खतरा झनै बढेको छ । विघटित प्रतिनिधिसभालाई आन्दोलनको आँधी बेहरीले पुनस्र्थापना गराउन कम्मर कसेको नेकपाको दाहाल–नेपाल समूह र निर्वाचनको तयारीमा लागेको ओली समूह तथा यही दुई धारमा अगाडि बढिरहेका अन्य राजनीतिक दलहरू निर्णायक दौडमा आमुन्ने–सामुन्ने आइपुग्दा देश कस्तो अवस्थामा पुग्छ सजिलै अनुमान लगाउन सकिन्छ । दरबार हत्याकाण्ड पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ग्रायन्ड डिजाइनको क्लाइमेक्स च्याप्टर सुरु भएको त होइन भन्ने सर्वसाधारणको आशंका एवं चिन्तालाई पूरै निरर्थक भन्न मिल्दैन । केही वर्षपूर्व अफगानिस्तानमा विभिन्न लडाकू समूहबीच भएको युद्धको कारण अफगानिस्तानमा सर्वत्र विनाश पैmलिएको तर्पm संकेत गर्दै श्रीलंकाका तत्कालीन एक सांसदले नेपालमा पनि अफगानिस्तानकै जस्तो अवस्था सिर्जना गर्न केही शक्ति लागेको बताएका थिए । अहिले गाउँगाउँमा समूह–समूह, गुट–उपगुटमा विभाजित राजनीतिले श्रीलंकाली ती सांसदको कथन सम्झना गराइरहेको छ ।

वास्तविक राष्ट्रिय एकताको खाँचो पूरा गर्न अहिले हरेक नेपाली जागृत हुनुपर्छ । नेपाली भावनात्मक एकताको अभावमा राष्ट्रिय एकताको चाहना वा परिकल्पनालाई साकार पार्न सकिँदैन । गाउँदेखि केन्द्र स्तरका नेता तथा राजनीतिक कार्यकर्ताले यस यथार्थलाई आत्मसात गरेर भावनात्मक एकतालाई अभैm खल्बल्याउन होइन यसलाई बलियो बनाउनमा आफ्ना भाषण एवं गतिविधि केन्द्रित गर्नु नितान्त आवश्यक छ । यसो नगरिए आसन्न संकटले नेपाली जनजीवन अस्त–व्यस्त बनाउने निश्चित छ । १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा देशले जुन विध्वंश एवं सास्तीको सामना ग¥यो त्यस्तो अवस्थाको पुनरावृत्तिको कल्पनासमेत कसैले गर्न चाहँदैनन् ।

प्रतिक्रिया