अम्रिसोले भाउ पाएपछि किसान दंग

इलाम । विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्रिसो) को भाउ बढेपछि किसान औधी रमाएका छन् । उनीहरू अहिले अम्रिसो थुतेर बजारसम्म पु¥याउन थालेका हुन् । मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो परिमाणमा भारत जान्छ । नेपाली उत्पादन भए पनि भारतीय व्यवसायीले राखेको भाउमा नेपाली व्यवसायी चल्नुपर्छ । भाउ अस्थिर हुनाले किसानले अधिकतम मूल्य पाउनकै लागि अहिले नै बजार पुर्याउन थालेका हुन् । वस्तुको मूल्य किसानको हातमा नरहेकाले कृषिजन्य उत्पादनको भाउमा उतारचढाव हुने गरेको छ । गत वर्ष प्रतिकिलो ९० रुपैयाँको हाराहारी भाउ रहेकामा यस वर्ष प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । यसै वर्षको भाउमा पनि एकरूपता छैन ।

सुरुमा सय रुपैयाँ रहेकामा विस्तारै बढेर १ सय ४० पुगेको हो । कुचोको भाउ स्थिर नभए पनि यस वर्ष विगतमा जस्तो अत्यन्तै कम हुने सम्भावना नरहेको देउमाई नगरपालिकाका व्यवसायी मात्रिका घिमिरे बताउँछन् । यस वर्ष उत्पादन कम भएकाले भारतबाट चर्को माग आइरहेको छ । नेपालबाट जाने कुचोको ठूलो परिमाण भारतमै खपत हुन्छ । यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले भाउ अझै बढ्न सक्ने उनको अनुमान छ । कुचोको प्रयोग घर बढार्नका लागि मात्र भए पनि अनिवार्य वस्तुमा पर्छ । ग्रामीण भेगमा घाँसको रूपमा प्रयोग हुने अम्रिसोको फल नै कुचो हो । देशभित्र पनि कुचोको खपत हुन्छ । तर उल्लेखीय भाउ पाउने आसमा किसानले बाहिर निकासी गर्ने व्यवसायीलाई कुचो बेच्ने गरेका छन् । यहाँका किसानले पुसको मध्यमबाट माघ अन्तिमसम्ममा अम्रिसो थुत्ने गर्दछन् । यसपछि सुकेपछि बेच्ने गरेका छन् ।

कतिपय किसानले पुरानो कुचो बेच्ने गरेकाले पनि भाउ कम हुने गरेको व्यवसायी घिमिरेको भनाइ छ । ‘कुचो जुन सालको हो । त्यही साल नै बेचिसक्नुपर्छ । अर्को साल पर्खियो भने गुणस्तरहीन हुन्छ’, उनले भने । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को साल बेच्ने गरेका छन् । यसैले पनि गुणस्तरीय वस्तु नआएको भन्दै भारतले कुचोको भाउ कम मात्र दिने गरेको छ । यस वर्ष भने भाउ उल्लेखीय आएकाले किसानसमेत बेच्न कसिएका छन् । कुचोको भाउ उल्लेखीय आएकाले माइजोगमाई गाउँपालिकास्थित सोयाङका सुमन बेघाले यस वर्ष बगानको सबै अम्रिसो थुतेर बेच्न सुरु गरेको जानकारी दिए । भाउ घटबढ भइरहने हुनाले तत्काल बेच्नका लागि मेघाले यस वर्ष कुचो बेच्न हतार गरिरहेका छन् । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुनको साथै यसको हेरचाह गर्न खासै मिहिनेत गर्नु नपर्ने भएकाले पनि किसानले अम्रिसो खेती गर्छन् । गाईभैँसीको लागि मुख्य घाँसको रूपमा किसानले अम्रिसो रोप्ने गर्छन् ।

प्रतिक्रिया