‘हिमानी’ निर्देशन गर्दै माधव

काठमाडौं । निर्माता माधव वाग्ले चलचित्र ‘हिमानी’ निर्देशन गर्ने भएका छन् । चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका उनी लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा रहेका छन् । यसअघि उनले ‘पारस’ बनाउने घोषणा गरे पनि चलचित्रको सम्पूर्ण अधिकार अभिनेता भुवन केसीलाई जिम्मा लगाएका थिए । ‘पारस’ छाडेका माधव नयाँ चलचित्र ‘हिमानी’ निर्देशनको तयारीमा जुटेका हुन् । माधवले चलचित्र विकास बोर्डमा नाम दर्ता भइसकेको यो चलचित्रको छायांकन चैतबाट सुरु गरिने जानकारी दिए । उनका अनुसार चलचित्र महिलाको विषयमा केन्द्रित छ । उनले भने, ‘चलचित्रमा प्रेम, रोमान्स र सस्पेन्स सबै विषय समावेश हुन्छन् ।’

निर्देशक माधवले चलचित्रका लागि कलाकारको छनोट नगरिएको बताए । उनका अनुसार विकास बोर्डमा दर्ता गर्दा भने कलाकारमा अभिनेता निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का र अर्पण थापाको नाम उल्लेख गरेको बताए । उनले केही दिनमै चलचित्रका लागि कलाकार अडिसनबाट छनोट गर्ने तयारी गरेको सुनाए । चलचित्रको नाम ‘हिमानी’ भए पनि यसले पूर्वयूवराज्ञी हिमानी शाहको जीवन कथा भने रहेको बताए । उनले भने, ‘चलचित्रको नाम हिमानी राखिए पनि यसको कथा काल्पनिक हो । यो चलचित्र कसैको जीवनसँग मेल खाँदैन ।’

प्रतिक्रिया