खेल-खेलाडी

पिएम कप पुरुष क्रिकेट : एपीएफको सुखद सुरुआत

सौर्य अनलाइन २०७७ माघ ३ गते २०:१० मा प्रकाशित

काठमाडौं । तीव्र गतिका बलर अभिनाश बोहरा र स्पिनर वसन्त रेग्मीको उत्कृष्ट बलिङसँगै एपिएफले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको छ । शनिबार एपिएफले प्रदेश एकलाई १ सय ३५ रनको फराकिलो अन्तरले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ४४ रनको विजयी पछ्याएको प्रदेश एक ४२.४ ओभरमा १ सय ८ रनमा अल आउट भयो । प्रदेश एकका युवा अलराउन्डर दीपेश कंडेलले नौं नम्बरमा ब्याटिङ गर्दै १६ रनको योगदान दिए । दीपेशले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

एक समय १४.३ ओभरमा ५३–१ को अवस्थामा रहेको प्रदेश एकका ब्याट्सम्यान त्यसपछि अभिनाश र वसन्तको बलमा एकपछि अर्को गलत सट खेल्दै लगातार आउट भएपछि सस्तैमा समेटिन पुगेको हो । प्रदेश एकका ओपनर मिनाश थापाले ४४ बलमा २ चौका सहित सर्वाधिक १८ रनको योगदान दिए । दीपक पासवान १३, फिर्दोस अन्सारी १३, सिद्धान्त लोहनीले ९ रनको योगदान दिए ।

किशोर महतोको सातौं ओभरको चौथो बलमा फुलटस बल मिस हुँदा दीपक एलबिडब्लू आउट हुन पुगेका थिए । उनले २१ बलमा २ चौका प्रहार गरे । १५ औं ओभरमा वसन्त रेग्मीले मिनासलाई सुबास खकुरेलबाट क्याच आउट गराए । अभिनाश बोहराको २६ औं ओभरको पहिलो बलमा कप्तान सिद्धान्त लोहनी इनसाइड एज लागेर विकेटकिपर आशिफ शेखबाट क्याच आउट भएपछि प्रदेश एकको जितको सम्भावना टाढिएको थियो ।

त्यसअघि २४ औं ओभरको चौथो बलमा फस्ट स्लिपमा सुबास खकुरेलले क्याच ड्रप गर्दा सिद्धान्तले ५ रनमा जीवनदान पाएका थिए । जोशक खड्काले शरद भेषावकरलाई छक्का प्रहार गर्दै एक समय रनको योगफल कटाएका थिए । जोशक ३१ बलमा १ चौका र १ छक्का सहित १२ रनमा अविजित रहे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपिएफ ४८.४ ओभरमा २ सय ४३ रनमा अल आउट भएको थियो । एपिएफका ओपनर आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए । आशिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ५९ रनमा जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सोनु मण्डललाई नवौं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै आशिफले २९ बलमा अर्ध शतक पूरा गरेका थिए ।

आशिफले नवौं ओभरको पहिलो बलमा मण्डललाई पहिलो नो बलमा छक्का त्यसपछि चौका, दोस्रो र तेस्रोमा छक्का प्रहार गर्दै सुरुवाती तीन बलमा २३ रन जोडेका थिए । पाँचौं बलमा पनि ठूलो सट खेल्ने धुनमा मिडअफमा फिर्दोस अन्सारीबाट समातिन पुगे ।

आशिफ र सुबासले पहिलो विकेटका लागि ८.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान सम्हालिएर खेल्न नसक्दा एपिएफ बलियो योगफलमा पुग्न सकेन । स्पिनर दीपेश कंडेलले १६ औं ओभरको पाँचौं बलमा ओपनर सुबासलाई मिडअनमा जोशक खड्काबाट १९ रनमा क्याच आउट गराउँदै दोस्रो सफलता दिलाएका थिए । सुबासले ४१ बल खेल्दा १ चौका प्रहार गरे ।

स्पिनर हेमन्त राईको २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका शरद डिप मिडविकेटमा सोनुबाट २० रनमा क्याच आउट भए । शरदले ३९ बल खेल्दा ३ चौका प्रहार गरेका थिए । लगत्तै २२ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका प्रदीप मिनास थापाबाट ७ रनमा आउट भएपछि एपिएफ समस्यामा परेको थियो ।

युवा ब्याट्सम्यान सुमित महर्जनलाई स्पिनर हेमन्त राईले १४ रनमा एलबिडब्लू आउट गरेपछि एपिएफ २४।५ ओभरमा १२६–५ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि वसन्त रेग्मी र सन्दीप जोराले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तीव्र गतिका बलर फिर्दोस अन्सारीले वसन्तलाई ४० रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए । वसन्तले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

सन्दीप जोराले ब्यक्तिगत ९ रनमा जीवनदान पाएका थिए । दीपेशको बलमा स्विप सट खेलेका जोरालाई फिर्दोस अन्सारीले ड्रप गर्न पुगेका थिए । सन्दीप जोराले ३९ बलमा ४ चौका सहित ३०, भुवन कार्की ७ र कमलसिंह ऐरीले ५ रनको योगदान दिए । तल्लोक्रममा कमलसिंह ऐरीले २३ बलमा २ चौका सहित १९ रन जोडे । एपिएफले आफ्नो दोस्रो खेलमा माघ ८ मा गण्डकीसँग मुलपानीमा खेल्ने छ । प्रदेश एकले सोमबार मुलपानीमै गण्डकीसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय