हिमालयन डिस्टिलरीको सत प्रतिसत लाभांस

काठमाडौ । हिमालयन डिस्टिलरीको २०औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट कम्पनीले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १ सय प्रतिशत लाभांश पारित गरेको छ । जसमा ५० प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस सेयर रहेको छ । आव २०७६/७७ को वासलात पारित गर्दै साधारणसभाले नगद लाभांश र बोनस सेयर वितरण प्रस्ताव पारित गरेको कम्पनी सचिव नेत्रप्रसाद तिमल्सिनाले जानकारी दिए । कम्पनीका अनुसार, साधारणसभामा ८० दशलमव ६ प्रतिशत सेयरधनी सहभागिता रहेको थियो ।

कम्पनीको गत वर्षको पुँजी ५७ करोड ८४ लाख ६८ हजार रहेकोमा साधारणसभाले १९ करोड २८ लाख रुपैयाँ बराबरको बोनस पारित गरेपछि ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । आव २०७५/७६ मा कम्पनीले ५३ करोड खुद नाफा गरेको थियो । तर गत चैत ११ देखि असारसम्मको लकडाउनका कारण कम्पनीको उत्पादन र बिक्री वितरण प्रभावित भएपछि खुद नाफा करिव ७ करोड घटेर गत आवमा ४६ करोड ६९ लाख मात्र भएको थियो ।

तर चालु आव २०७७÷७८ को प्रथम त्रैमासिकमा कम्पनीले १८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले कर्मचारीलाई खुद नाफाको १० प्रतिशत अर्थात ६ करोड ९६ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको छ । हिमालयन डिस्टिलरीले रोयल ट्रेजर, गोल्डेन ओक, ब्ल्याक ओक लगायत ब्रान्डमा मदिरा उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया