पत्रकार महासंघ स्याङ्जाको साधारणसभा स्थगित

स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको १०औँ साधारणसभा स्थगित भएको छ । प्रेस संगठन स्याङ्जा शाखाले महासंघको केही निर्णयलाई आपत्ती जनाएसँगै शाखाको साधारणसभा स्थगित भएको हो । स्याङ्जा शाखाको १२औँ बैठकले माघ १ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरको थियो । प्रेस संगठन स्याङ्जा शाखाले विज्ञप्ति जारी गर्दै नयाँ सदस्यता सिफारिस, अदालतले दोषी ठहर्याएको व्यक्तिलाई पुरस्कृत गर्ने निर्णयप्रति आपत्ती जनाएको हो ।

नेपाल पत्रकार महासंघ स्याङ्जाको भवन निर्माणार्थ जग्गा उपलब्ध गराएको जग्गादातालाई कार्यक्रममा निमन्त्रणा नगरेर आफूखुसी राजनीतिक व्यक्तिहरूलाई कार्यक्रममा बोलाएर सभा गर्न खोजिएको प्रति पनि संगठनले आपत्ती जनाएको छ । साधारणसभा गर्ने भनिए पनि साधारणसभाको ब्यानर परिवर्तन गरेर स्याङ्जाको पत्रकारिता र हाम्रो दायित्व विषयक एक दिवसीय अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको थियो ।

मर्यादित, स्वच्छ र स्वस्थ पत्रकारिता आजको आवश्यकता रहेको बताउँदै पत्रकारिताको मूल्य र मान्यता अनुसार क्रियाशिल रहनुपर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, जनपत्रकार संगठन नेपालका निवर्तमान अध्यक्ष प्रकाश डुम्रे लगायतले जिल्लाभित्रको पत्रकारिता क्षेत्र फुटेर नभई जुटेर अगाडि बढ्नुपर्ने बताए ।

संगठनको विज्ञप्तिमाथि छलफल गरेर महासंघको १३औँ बैठकले स्थगित साधारणसभाको मिति तय गर्ने नेपाल पत्रकार महासंघका सचिव सुशील सुबेदीले बताए । उनले भने, ‘सञ्चारकर्मीको छाता संगठन महासंघ हो । जिल्लाको समस्या महासंघले नै समाधान गर्नेछ ।’

प्रतिक्रिया