ट्राफिक प्रहरीको टाइमकार्डलाई लत्याउँदै सवारी चालक

दैलेख । दैलेख–सुर्खेत सडक खण्डमा टाइमकार्डको नियम लागू गरेसँगै दुई/तीन महिना सवारी चालकले टाइमको ख्याल गर्दै सवारी चलाउने गरेका थिए । सडक दुर्घटना कम गर्ने उद्देश्यले चालकलाई टाइमको ख्याल नगरी सवारी चलाएमा कारबाही भोग्नुपर्ने थियो । कारवाही भोग्ने डरले पनि सवारी साधन निश्चित समयमा भनेको ठाउँमा पुर्याइन्थो । यदि टाइममा नपुगेमा कारण देखाउनुपर्ने थियो । यस्तो नियम लगू गरेपछि केही महिना त सवारी चालकले नियमको पालन गरे ।

केही वर्ष पहिले पनि दैलेख–सुर्खेत सडकमा टाइम कार्डको व्यवस्था गरेर बीचैमा अलपत्र परेको यो नियम सवारी दुर्घटना बढ्दै गएको समस्यालाई ध्यानमा राखी गत वर्ष जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले पुनः टाइम कार्डको व्यवस्था गरे दैलेख–सुर्खेत सडक खण्डमा सवारीको चाप बढेसँगै लागू गरिएको टाइम कार्ड बिचैमा तुहिएको छ ।

सुर्खेत प्रहरीसँग समन्वय गरी टाइम कार्ड लागू गरिएको प्रहरीले बताए पनि दैलेखबाट वली सरुवा भइसकेका छन् । उनीसँगै दैलेखमा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) उपेन्द्र आचार्य सुर्खेतमा ट्राफिक प्रमुखको रूपमा कार्यरत छन् । तर, नियम बन्छन्, बनेका नियम बीचैमा तुहिने प्रवृत्तिले आमनागरिक निराश बनेका छन् । नियम बने पनि कार्यान्वयन नहुने प्रवृत्ति बढ्दै गएको दैलेखका नागरिकले गुनासो गरेका छन् ।

दैलेख जिल्लाभित्र रहेको दैलेख–सुर्खेत सडकखण्ड भित्रको सवारी आवागमनलाई प्रभावकारी र नियमनकारी बनाउन, सवारी दुर्घटना न्यूनीकरण गर्ने, सवारीको गति सीमितता दिने, क्षमताभन्दा बढी यात्रुहरू राख्न नदिने उद्देश्यका साथ यात्रुहरूको हित र सुरक्षाका लागि टाइम कार्ड लागू गरिएता पनि यसको नियमितता नभएको पाइएको छ । भर्खरै मात्र यस खण्डको रातानाङ्गलादेखि झण्डै एक किलोमिटर अगाडि तीव्र गतिमा आइरहेको ना ७ ख ५०७९ नम्बरको टे«लरले सामाजिक सेवा केन्द्र (सोसेक) मा कार्यरत पूर्णबहादुर महतरा र गुराँस गाउँपालिका–८ का श्यामसुन्दर खड्का सवार मोटरसाइकल आफ्नै साइडमा रोकिएको अवस्थामा ठक्कर दिँदा महतारा र खड्का घाइते भएका छन् तीब्र गतिमा आएको ट्रेलरले मोटरसाइकल चालक महतराको हातमा ठक्कर दिएपछि मोटरसाइकल करिब सय मिटर तल खसेको थियो ।

सवारी चालकहरू सवारी साधन ठोकिए सहानुभूति दिनुको साटो भाग्ने चेस्टा गर्छन् । ट्रेलर चालकले पनि गति झन तीव्र बनाई भागेर सुर्खेत पुगेपछि प्रहरीले निगरानी बढाउँदा उनी अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा छन् । ट्रेलरको ठक्करबाट महताराको दायाँ हात भाँचिएको छ । खड्काको टाउको र आँखामा चोट लागेको छ । महतारा र खड्का दुबैको देउती हस्पिटल सुर्खेतमा उपचार भइरहेको छ । गाडी (ट्रेलर) धनी अहिलेसम्म पनि सम्पर्कमा नआएको बुझिएको छ ।

मोटरसाइकलाई ठक्कर दिने गाडी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याउन आलटाल भइरहेको महताराका आफ्न्तले बताएका छन् । यता दैलेख–सुर्खेत सडक खण्डमा यात्रा गर्ने यात्रुहरूले ट्रक, टिपर तथा ट्रेलरको अत्यधिक गति नियन्त्रण गर्न टाइम कार्ड अनिवार्य लागू गरिनुपर्ने माग राखेका छन् । ट्रक, टिपर तथा ट्रेलर चालकले चालकले ट्रिप अनुसारको ज्याला पाउने भएकाले आपसी प्रतिष्पर्धा र अत्यधिक गतिमा टिपर हाँक्ने गर्छन् ।

गत वर्ष लागू गरिएको टाइम कार्ड (सवारी आगमन समय तालिका) अनुसार यात्रुवाहक सवारी साधनले दैलेख सदरमुकामदेखि माथिल्लो डुंगेश्वरसम्म १६ किमि ४५ मिनेट, माथिल्लो डुंगेश्वरदेखि रानीमत्ता १६ किमि १ घण्टा १५ मिनेट र रानीमत्तादेखि सुर्खेत बसपार्क २५ किमि एक घण्टा ३० मिनेटमा पूरा गर्नुपर्ने व्यवस्था गरिएको थियो । टाइम कार्ड लागू गर्दा तोकिएको समयभन्दा चाँडो दुरी पार गरेमा कारबाही गर्ने भन्दै प्रचार गरिए पनि अहिले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दैलेख मौन बसेको छ

प्रतिक्रिया