‘मास्टर’को एकदिनको कमाइ ४० करोड

मुम्बई । दक्षिण भारतीय चर्चित अभिनेता थलापति विजय र विजय सेतुपति अभिनीत चलचित्र ‘मास्टर’ ले प्रदर्शनको पहिलो दिनमै ४० करोड रुपैयाँ कमाउन सफल भएको छ । बुधबार प्रदर्शनमा आएको यो चलचित्रले सुरुवाती व्यवसाय निकै राम्रो गर्न सफल भएको हो । कोरोना कहरपछि विस्तारै खुल्दै गरेको चलचित्र क्षेत्रमा ‘मास्टर’ को कमाइले निर्माता निर्देशकलाई निकै उत्साहित बनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार एक्सन थ्रिलर चलचित्र ‘मास्टर’ले पहिलो दिन विश्वभरबाट ४० करोड रुपैयाँ कमाउन सफल भएको छ । कोरोना कालमा प्रदर्शनमा आएका प्रायः भारतीय चलचित्रमध्ये यसले निकै राम्रो व्यापार गर्न सफल भएको छ ।

लोकेश कनागराजको निर्देशनमा बनेको यो चलचित्र तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो । चलचित्रको हिन्दी भर्सन बिहीबारबाट रिलिज गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रले तमिलनाडुमा मात्र २३ करोड कमाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यस्तै, केरला र कर्नाटकमा ३–३ करोडभन्दा बढी कमाइ गरेको जनाइएको छ । तेलन्गाना र आन्ध्रा प्रदेशमा यसले ४.५ करोड र देशका विभिन्न भागबाट १.५ करोड कमाएको छ ।

चलचित्रले अन्तर्राष्ट्रिय बजारबाट समेत ४ करोड कमाउन सफल भएको जनाइएको छ । चलचित्र समीक्षक तरन आदर्शले लेखेका छन् ‘यो बक्सअफिसमा सुनामी हो । मास्टरको राम्रो सुरुवात् भएको छ । दर्शक जे हेर्न चाहन्छन् । तपाई त्यति दिनुस् । उनीहरुले तपाइलाई कहिलै निरास पार्दैछन् ।’ चलचित्रमा विजय, विजय सेतुपतिको साथमा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास, नसीर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यसैबीच यो चलचित्रले नेपाली हलमा समेत राम्रो कमाइ गरेको छ । कोरोनाका कारण बन्द रहेको नेपाली चलचित्र हल खुलेपछि प्रदर्शनमा आएको ठूलो बजेटको चलचित्रले बक्सअफिसमा गज्जब व्यापार गर्न सफल भएका छ । चलचित्र प्रदर्शनको अघिल्लो दिन अनलाइनबाट टिकट खरिद खुल्ला गरिएको थियो । तैपनि हलमै पुगेर टिकट काट्ने दर्शकको भीड नै लागेको थियो । ५० प्रतिशत ‘अकुपेन्सी’ मा सञ्चालन भएका हलबाट ‘मास्टर’ ले पहिलो दिनमै राम्रो कमाइ गर्न सफल भएको हो ।  नेपालमा भने वितरक मनोज राठी र उनको टिमले चलचित्रको सर्वाधिकार किनेर ल्याएको हो । बिहीबार बिहान सेन्सर पास भएको यस चलचित्र बिहीबारबाट नै हलमा लागेको छ ।

प्रतिक्रिया