चालिसेका तीन कृति

काठमाडौं । साहित्यकार तथा पत्रकार विजय चालिसेद्वारा लिखित तीन नयाँ कृति सार्वजनिक भएका छन् । चालिसेका ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’ र ‘मरूभूमिको फूल’ कृति बजारमा आएका हुन् । ‘सर्पदंशित मेरो वर्तमान’ मा विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध रहेका छन् । समसामयिक परिवेशका विविध घटना, समाज र राजनीतिका विषय रहेका यी निबन्धले नेपाली समाजको यथार्थतालाई उत्खनन् गरेको पाइन्छ ।

अनुसन्धानमूलक ‘परिशीलन’कृतिमा नेपाली साहित्य, भाषा र आमसञ्चारबारेमा चर्चा गरिएको छ । जसमा विभिन्न १० शीर्षकमा लेखिएकासामग्री रहेका छन् । नेपाली साहित्य, भाषा र आमसञ्चारका विषयलाई लेखकले निकै गहनतापूर्वक यस कृतिमार्फत उतार्ने कोशिस गरेका छन् ।

नियात्रा तथा संस्मरणको संग्रहका रुपमा ‘मरूभूमिको फूल’कृति आएको छ । लेखकले नियात्राका क्रममा देखेभोगेका विविध परिवेश र यात्रालाई कलात्मक रुपमा पुस्तकमा चित्रण गरेका छन् । चालिसेका यी तीनवटै कृतिको प्रकाशन बीएन पुस्तक संसार गरेको हो । नेपाली साहित्य तथा पत्रकारिताका क्षेत्रमा परिचित उनले वाङ्मय क्षेत्रको संस्थागत विकासका निम्तिसमेत महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

उनी मूलतः कथा तथा बालसाहित्यका क्षेत्रमा परिचित व्यक्तित्व हुन् । त्यस्तै चालिसेले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखको लेख्दै आएका छन् । त्यस्तै, बालसाहित्य, संस्कृति, आमसञ्चार लगायतका विविध विषयका उनका करिब ६ दर्जन बढी पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया