एपिएफको टोली घोषणा

काठमाडौं । एपिएफले नेपाली क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको लागि १५ सदस्य टोली घोषणा गरेको छ । गत वर्ष एपिएफ स्पिनर वसन्त रेग्मीको कप्तानीमा पिएमकप खेलेको थियो । एपिएफको घोषणा टोलीमा स्पिनर भुवन कार्कीले पूनरागमन गरेका छन् । युवा तीव्र गतिका बलर किशोर महतो, स्पिनर सूर्य तामाङ र युवा ब्याट्सम्यान रित गौतम पहिलो पटक एपिएफबाट खेल्ने भएका छन् । गत वर्ष सेमिफाइनलबाट बाहिरिएको एपिएफले यस पटक बलियो टोली निर्माण गर्दै घोषणा गरेको छ ।

प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म टीयू मैदानमा हुँदै छ । एपिएफ समूह ‘ए’ मा छ । समूह ‘ए’ मा एपिएफसँगै त्रिभुवन आर्मी, गण्डकी, प्रदेश १, कर्णाली छन् । गत वर्ष एपिएफ सेमिफाइनलमा पुलिससँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो । दोस्रो संस्करणमा आर्मीलाई ६ विकेटले हराउँदै एपिएफले उपाधि जितेको थियो ।

एपिएफले माघ ३ मा प्रदेश १ विरुद्ध टीयूमा खेल्दै सुरुवात गर्ने छ । माघ ८ मा एपिएफले मुलपानीमा गण्डकीसँग खेल्ने छ । माघ १० मा कर्णाली र माघ १२ मा आर्मीसँग टीयूमा खेल्ने छ ।

एपिएफको टोली : शरद भेषावकर (कप्तान), वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सूर्य तामाङ र अभिनास बोहरा

प्रतिक्रिया