त्रिशूली नदीमा बेलिब्रिज निर्माण

रसुवा । हाकु क्षेत्रका बासिन्दालाई यातायातको पहुँच पु¥याउन त्रिशूली नदीमा बेलिब्रिज निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ को सीमास्थित त्रिशूली नदीमा अपर त्रिशूली वान नामक जलविद्युत् आयोजनाले ४० मिटर लामो बेलिब्रिज निर्माण गरेको हो । भौगोेलिक रूपमा विकट रहेको हाकु क्षेत्रका बासिन्दालाई यातायातको सुविधा पुर्याउन मोटरेबल बेलिब्रिज निर्माण गरिएपछि त्यस क्षेत्रका बासिन्दा हर्षविभोर भएका छन् । सो बेलिब्रिजको भार बहन क्षमता ४० टन रहेको बताइएको छ । बेलिब्रिजका लागि आवश्यक पर्ने सामान खरिद तथा जडान एवं तीन सय मिटर पहुँच मार्गलगायत संरचना निर्माणका लागि ६ करोड ८० लाख खर्च भएको उक्त आयोजनाका महाप्रबन्धक गिरीराज अधिकारीले बताए । २ सय १६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत् आयोजनाले स्थलगतरूपमा आफ्ना गतिविधि कार्यरम्भ सुरु गर्नुपूर्व नै प्रभावित क्षेत्रमा बेलिब्रिज बनाई समुदायमाझ सम्मान गरेको हो ।

नवनिर्मित बेलिब्रिजले हाकु, नेशिङ एवंं लुमराङ क्षेत्रमा बसोबास गर्ने करीब चार–पाँच सय घरपरिवारलाई सवारी साधनमा नियमित ओहोरदोहोर गर्न र आयोजनाको निर्माण सामग्री ढुवानीमा सहज पार्ने आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष निमा ढिण्डु तामाङले जानकारी दिए । स्याफ्रु (मैलुङ अन्तर्राष्ट्रिय राजमार्गबाट सहायक मार्गका रूपमा खोलिएको नौ किमी हाकु ग्रामीण सडक बाह्रै महिना चल्ने स्थानीय बासिन्दाले अपेक्षा राखेका छन् । स्थलगतरूपमा कार्यारम्भ गर्नुपूर्व नै पुल निर्माण गरी आयोजनाले गरेको योगदान हाकुवासीमाझ उल्लेखनीय रहेकोसमेत वडाध्यक्ष तामाङले बताए ।

हाकुबेँसीदेखि ठूलोहाकुसम्म मोटर लान पूर्वतयारीका लागि गाउँपालिकामार्फत गत वर्ष खोलिएको ग्रामीण सडकको ट्र्याक सफा गर्ने कार्यसमेत सुरु भइसकेको वडा–१ को कार्यालयले जनाएको छ । बेलिब्रिज निर्माण एवं मोटरबाटोको ट्र्याक खुलेसँगै पुस्तौँदेखिको उकालीओरालीमा बोक्नुपर्ने डोको–नाम्लो अब टुट्ने आशाले गाउँवासी हर्षविभोर भएको समाजसेवी निमदर्के तामाङले बताए ।

हाकुबँेसीदेखि ठूलोहाकुसम्म खोलिएका नयाँ सडकको असहज स्थानमा ग्याबिन पर्खाल लगाउने कामसमेत अगाडि बढिसकेकाले आगामी ०७८ सालको नवबिहानीमै हाकु क्षेत्रमा पहिलो मोटर गुडाउने लक्ष्य राखिएको वडाध्यक्ष तामाङले बताए । यस्तै ठूलो हाकुदेखि नेशिङ हँुदै ग्रेगाउ बहुङडाँडाको पासाङल्हामु मार्ग जोड्ने ग्रामीण सडकसमेत निर्माण भइरहेको र स्थानीय सरकारका तर्फबाट गाउँले सडक निर्माणलाई पहिलो प्राथमिकता दिँदै आएको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए ।

प्रतिक्रिया