लिंगो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ

चितवन । पवित्र तीर्थस्थल देवघाटको वेणीमा २९ गते बिहान बाँसको लिंगो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।  नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश आत्मनन्द गिरीसहित सन्तमहन्त, वटुकलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिंगो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवतरूपमा लिंगोसहित यात्रा वेणीमा पुगेको थियो ।

यससँगै चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटमा माघेसंक्रान्ति मेला सुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार यस वर्ष बजार लाग्ने मेला नगरी स्नानका लागि मात्र मेला हुने भएको हो । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको जानकारी उनले दिए । देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुंगाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कंदा तिनले आँपटारीको बाटो प्रयोग गर्नेछन् ।
दासढुंगामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले देवघाटसम्म नै सवारी साधन पु¥याउन सकिनेछ । घिमिरेले भक्तजनले सो पुल प्रयोग गरेमा हाल प्रयोग हुँदै आएको बाटोको सवारी चाप घट्ने बताए । दासढुंगाबाट जाँदा चार किमी दुरीमा सवारी साधनबाट देवघाट नै पुग्न सकिन्छ । घिमिरेले सवारीको पार्किङ, विद्युत्, शौचालय, सरसफाइ, खानेपानीलगायत व्यवस्था भइसकेको बताए ।

आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुंगासहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारमा जुट्ने जनाइएको छ । चितवन र तनहुँ जोड्ने झोलुंगे पुलको मर्मतसम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमांकन गरिएको छ ।

गत वर्षहरूमा संक्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष यो संख्या भने कम हुने अनुमान गरिएको छ । मसान्तदेखि नै भक्तजन आउने क्रम सुरु भएको छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो ।

सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

प्रतिक्रिया