फिदिम नगरपालिकाको आठौँ नगरसभा सम्पन्न

पाँचथर । बुधबार फिदिम नगरपालिकाको आठौँ नगर सभा सम्पन्न भएको छ । उक्त नगरपालिकाको ७२ प्रतिशत भौतिक र ७७ प्रतिशत वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत भएको छ । कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सभाको उद्घाटन गरेका थिए ।

सो सभामा प्रस्तुत संशोधित बजेट, कार्यक्रम तथा प्रगति समिक्षा प्रतिवेदन अनुसार नगर क्षेत्रमा रहेका १ सय ८६ कार्यक्रम मध्ये १ सय २२ वटा कार्यक्रम पुरा भएका छन् । ती कार्यक्रम तथा योजना पुरा हुँदै गर्दा ७२ प्रतिशत भौतिक र ७७ प्रतिशत वित्तिय प्रगति भएको नगर उप–प्रमुख उर्मिला प्रधान श्रेष्ठले जानकारी दिइन् ।

चालु आर्थिक वर्षमा प्रगति कम देखिनुमा कार्यान्वयनको पूर्व तयारीका कारण भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सातौँ सभाबाट पारित बजेट ८५ करोड २७ लाख ७७ हजार ७ सय ३० भएकोमा साना सिंचाइ आयोजना र करुणा फाउण्डेशन समेतको मौज्दात अनुमानभन्दा बढी भइ ८६ करोड ६३ लाख ५२ हजार ७ सय ३१ कायम हुन आएको छ ।

आफैले संकलन गर्ने आन्तरिक आयसमेत गरी आगामी आर्थिक वर्षमा प्राप्त हुन सक्ने आयस्रोत तथा तिनको प्रक्षेत्रपण ३२ करोड ३३ लाख २५ हजार गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारिका समयमा फिदिम नगरपालिकाले मात्रै ५३ लाख ८० हजार ५ सय ९५ रुपैयाँ खर्च गरेको तथ्य प्रस्तुत गरिएको छ ।

यो अवधिमा कोरोना रोकथामका लागि ४ सय ७८ जनालाई ३ हजार ५ सय २१ दिन सोवा दिइ ५१ लाख ६५ हजार २ सय ५२ रुपैयाँ खर्च गरिएको नगरपालिकाको दावी छ । सभाको शुभकामना मन्तब्यका क्रममा मन्त्री नेम्वाङले फिदिम नगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गरे ।

नगरभित्र मात्रै १ अर्ब भन्दा बढी रकम आउँदा पनि आएन भन्ने सुनिएको उनले बताए । ‘यो अवश्यकताले गर्ने हो’, उनले भने ‘आवश्यक परे अझै बजेट थपिने छ ।’ साथै, फिदिम बजारलाई स्मार्ट बजार बनाउने विषयमा आफू गम्भिर रहेको उनको भनाई थियो । ‘सुरुवात भएको छ’, उनले भने, ‘भएका कामहरु प्रचार हुनु पर्यो, हामी हातेमालो गर्न तयार छौँ ।’

उनले मुलुक निर्वाचनमा गइसकेको दाबी समेत गरे । संवैधानिक र असंबवधानिक भन्ने कुरा फैसला कस्ले दिने हो भन्दै प्रश्न समेत गरे । उनले त्यसको अन्तिम निर्णय दिने अदालतले भएकाले अरुले चर्चा गर्न जरुरी नै नरहेको बताए । अबको निर्णय अदालत र निर्वाचन आयोगले मात्रै अन्तिम रुप दिने बताए ।

नेम्वाङ नेकपाभित्र ओली समूहका नेता हुन् । उनले केपी ओली राजनेता भएकै कारण जनताले उच्च मत दिएको दाबी गरे । नगरसभामा बोल्ने वक्ताहरुले फिदिममा यातायात व्यवस्था कार्यालय आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा नेकपा केन्द्रिय सदस्य अइन्द्रशुन्दर नेम्वाङले सरकार र प्रतिपक्ष समेत निर्वाचनको तयारीमा लागेकोले विरोधको अर्थ नभएको उल्लेख गरे ।

उनले प्रधानमन्त्रीको पछिल्लो कदम कसरी असंबैधानिक रहेको भन्दै प्रश्न समेत गरे । कार्यक्रममा उपस्थित प्रदेश संसद आशारत्न जवेगुले फिदिम नगरपालिकाले गरेको कार्यको प्रशंसा गरिन् ।

शुभकामना दिनेहरुमा नेपाली कांग्रेसका जिल्ला सचिव रुपनारायण जवेगु , नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष राजकुमार भण्डारी, जनतासमाज पार्टीका सचिव कमलराज नेम्वाङ, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल , अलैची व्यसायी संघका अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी, जिसस प्रमुख विष्णु प्रसाद सापकोटा , उपप्रमुख डिल्लीराम दुलाल, सिडिओ पुण्य प्रसाद ढकाल बोलेका थिए ।

उक्त सभामा पत्रकार महासंघका जिल्ला अध्यक्ष लवदेव ढुंगानाले नगर र पत्रकार महासंघको गतिविधी सार्वजनिकरण गरेका थिए । नगरप्रमुख ओनाहाङ नेम्वाङको अध्यक्षता नगरसभा सम्पन्न भएको हो । मन्त्री नेम्वाङलाई नगरप्रमुख ओनाहाङ नेम्वाङले मायाको चिनो हस्तान्तरण गरे ।

प्रतिक्रिया