पुस्तकमा इन्जिनियरिङ चर्चा

काठमाडौं । प्रा.डा. भोला थापाद्वारा लिखित ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ अंगेजी पुस्तक बजारमा आएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा.डा. थापाले नर्वेली प्राध्यापक डा. इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको यस पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको प्रारम्भदेखि अहिलेसम्म भएको विकासलाई समेटिएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा.सुरेशराज शर्माले पुस्तक ऐतिहासिक रहेको चर्चा गर्दै प्रायः इन्जिनियरिङ र मेडिसिन विषय पढ्नेहरु अध्यापन पेसाभन्दा विकासका अन्य फाँटहरुतिर जान चाहनेक्रम विकासोन्मुख देशहरुमा मात्र नभइ अन्यत्र पनि भएको उल्लेख गरेका छन् । उनले भने, ‘आफ्नो योग्यताको सही प्रयोग र आर्थिक लाभ पनि विकासका फाँटहरुतिरै हुन्छ भन्ने अवधारणा विश्वका धेरै देशहरुमा पाइन्छ । नेपालमा पनि त्यस्तै, अवधारणा रहेको अवस्था थियो । सेवा गर्दा शिक्षण पेसामा आफ्नै दोस्रो तहकको विकल्प मात्र हुन्थ्यो ।’ उनले पुस्तकमा नर्वेमा आफ्नो विधामा इन्जिनियरिङ शिक्षालाई शिखरसम्म पु¥याएका प्रा. इन्गे योहान्सनलाई नेपाल ल्याइ काठमाडौं विश्वविद्यालयलाई सघाएको र मार्गदर्शन गरेको योगदानको सेरोफेरो थापाको यस पुस्तकको वृत्तान्तमा रहेको जनाएका छन् ।

डा.शर्माले भने, ‘थापाले काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको ऐतिहासिक विकासक्रमलाई प्रस्ट्याउने यस्तो महत्वपूर्ण पुस्तक लेख्नुभएकोमा यो संस्था गौरवान्वित हुनुपर्ने देख्तछु ।’ डा. सीताराम अधिकारीले नेपालको इन्जिनियरिङ शिक्षाको संक्षिप्त ऐतिहासिक झलक यस पुस्तकमा पढ्न पाइने बताए । उनले भने, ‘काठमाडौं विश्वविद्यालयका बारेमा अनुसन्धान गर्न चाहनेहरुका लागि अर्को कडी र महत्वपूर्ण दस्तावेज बनेको यस पुस्तकका लागि लेखक डा. भोला थापालाई धन्यवाद तथा बधाई ज्ञापन गर्दै पुस्तकको सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।’
काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्टार प्रा.डा.भद्रमान तुलाधरले पुस्तकमा काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको सुरुवात्, विकास, विस्तार, सुदृढीकरणको इतिहास र यसमा अहम् भूमिका खेलेका संस्थापकहरु, शिक्षकहरु र इन्जिनियरहरुको बारेमा चर्चा गरिएको बताए । उनले भने, ‘साथै नर्वेको सहयोग प्राप्त गर्न अथक योगदान दिने प्रा.डा. इन्गे योहान्सनबारे अभिलेखका रुपमा प्रस्तुत गर्न प्रा.डा. भोला थापाको प्रयासको प्रतीक हो ।’

पुस्तकमा डा.थापाले नेपालको इन्जिनियरिङ क्षेत्रको विकासको सन्दर्भलाई सान्दर्भिक ढंगले उठान गरेको सिन्टेफ इनर्जीका भाइस प्रेसिडेन्ट पिटर स्टोइयाले उल्लेख गरेका छन् । लेखक प्रा.डा. थापाले आफूले अनुभव र अनुसन्धानको विषयलाई पुस्तकमा समेट्ने कोशिस गरेको बताए । उनले भने, ‘विश्वविद्यालयमा लामो समय विभिन्न जिम्मेवारीमा रहेँ । व्यस्ततामा ठीक बेठीक के गरेँ, हेर्ने फुर्सद पनि भएन । विशेषतः इन्जिनियरिङ कार्यक्रममका स्वप्नदर्शीहरुले कस्तो सपना देख्नुभएको थियो ? त्यसको नक्सा कसले कस्तो कोर्नुभयो ? त्यसलाई मूर्त रुप दिने वा निर्माण गर्न को–को आउनुभयो र जानुभयो ? साँच्चै काठमाडौं विश्वविद्यालयको ‘इन्जिनियरिङका शिक्षाका इन्जिनियर’ को हुनुहुन्छ होला ? उहाँको योगदान भविष्यको पुस्ताले सम्झँला कि नसम्झँला ? विश्वविद्यालय विकासका इतिहासक्रम र दस्तावेज भविष्यका पुस्ताले हेर्न पाउलान् कि नपाउलान् ? त्यसैले विश्व बैंक, एसियाली विकास बैंक र पूरै सरकार लाग्दा पनि सुरु नभएको इन्जिनियरिङको शैक्षिक कार्यक्रम काठमाडौं विश्वविद्यालयमा सुरु हुँदा र सञ्चालन हुँदाको इतिहास महत्वपूर्ण हुनसक्छ भनेर यो पुस्तक तयार पारेको हुँ ।’

पुस्तकले इन्जिनियरिङ शिक्षालाई बुझ्न र नेपालमा यसको महत्व उजागर गर्न सफल हुने आशा राखेको प्रकाशक समा थापाले बताइन् । उनले पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ विषयको सुरुवात् र त्यसले नेपालमै पारेको प्रभावलाई उधिनेको विचार व्यक्त गरिन् । प्रा.डा. थापा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्रोफेसर हुन् । लेक्चररबाट अध्यापन सुरु गरेका थापाले असिस्टेन्ट प्रोफेसर र असोसिएट प्रोफेसर हुँदै प्राज्ञिक क्षेत्रमा लामो यात्रा तय गरेका छन् । उनी विभागीय प्रमुख, डिन, रजिस्ट्रार र कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा रहेर प्रशासनिक योगदानसमेत दिँदै आएका छन् । उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सन् २००४ मा मेकानिकल इन्जिनियरिङ विषयमा विधावारिधी गरेका छन् ।

त्यसअघि उनले भारतको पिलानीको बिरला इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा मास्टर्स र चण्डीगढको पञ्जाव इन्जिनियरिङ कलेजबाट स्नातक गरेका छन् । उनको नेपालको स्थानीय समुदायका लागि व्यावसायिक अनुसन्धान गरेर ज्ञानको विकास र विस्तार गर्नमा अग्रणी भूमिका रहेको छ । त्यस्तै, प्रा.डा. थापाले सन् १९९४ मा काठमाडौं विश्वविद्यालयबाट अध्यापन सुरु गरेका हुन् । उनले हाइड्रो टर्वाइन विषयमा काठमाडौं विश्वविद्यालयबाट वैज्ञानिक अनुसन्धान सुरु गरेका छन् । साथै उनले नवीकरणीय ऊर्जा र अनुसन्धान कार्यक्रमहरुको व्यवस्थापन र समन्वय गर्दै आएका छन् । यसअघि प्रा.डा.थापाले ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ पुस्तक प्रकाशित गरिसकेका छन् ।

प्रतिक्रिया